Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुपन्देही घटना: गोली लागेर मृत्यु भएका तीन जनाको सनाखत हुन सकेन


    सोमबार, असोज २५ २०७८
    410
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार मृत्यु भएका चार जनामध्ये तीन जनाको सनाखत हुन सकेको छैन ।

    गोली लागेर गम्भीर घाइते भएर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जनाको अहिलेसम्म सनाखत हुन नसकेको हो । 

    कपिलवस्तु वाणगंगा-१० का २० वर्षीय रमेश परियारको मात्रै सनाखत भएको छ । मृतकको शव भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिएको छ । आइतबार दिउँसो भएको घटनामा १६ जना सर्वसाधारण घाइते भएका थिए । १६ जनामध्ये चार जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपमा परी ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । 

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घाइते भएको जानकारी दिए ।

    आइतबार अपरान्ह प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको प्रजिअ तिवारीले बताए । उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खटिएका प्रहरीमाथि ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आफ्नो ज्यान जोगाउन गोली चलाउनु परेको बताए । ‘प्रहरी प्रशासनले संयमता नअपनाएको भए ठूलो क्षति हुने अवस्था थियो’, तिवारीले भने, ‘लाठीचार्ज, अश्रुग्यास, हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको हो ।’ 

    विगत एक सातादेखि मोतिपुर औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर सार्वजनिक जग्गा कब्जा गरेर घरटहरा बनाउन लागेपछि सुरक्षाकर्मीले टहरा भत्काउन थालेकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार