काठमाडौं । सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्चार्ज इन्स्पेक्टर देवेन्द्र शाहलाई भने जुवा अखाडाबाट मासिक घुुस असुलीदेखि यौन दुब्र्यवहारका आरोपीलाई उन्मुक्ति दिनेसम्मका आरोप लागेको छ । । इन्स्पेक्टर हशाहबिरुद्ध ५ आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश प्रहरी कार्यालयमा पनि उजुरी परेको छ ।
इन्स्पेक्टर शाहमाथि लगाइएका पाँच आरोप
इन्स्पेक्टर शाहले मासिक घुस लिएर बाह्रबिसे बजारका उमेश श्रेष्ठको घरमा नियमित रुपमा जुवा अखाडा संचालन गर्न दिएको आरोप छ । उनले उक्त जुवा अखाडाबाट घुस लिने गरेको उजुरीमा उल्लेख छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा सिन्धुपाल्चोक प्रहरीले डीएसपीको नेतृत्वमा पठाएको स्थलगत छानबिन टोलीसमक्ष जुवा अखाडा संचालक उमेश श्रेष्ठले मासिक घुस दिएर जुवा खेलाएको स्वीकार गरेता पनि उनीमाथि कुनै कारबाही हुन नसकेको उजुरीमा जनाइएको छ । श्रेष्ठको घरमा नियमित जुवा अखाडा संचालन हुने गरेको छ भने दशैं तिहारमा त झन् २४ घन्टै जुवा खेलाउने गरिएको छ ।
केही महिनाअघि त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ टेकनपुरमा सामूहिक रुपमा खुकुरी प्रहार गरी गिदी नै बाहिर निस्कनेगरी ज्यानमार्ने नियतका साथ घटना घटाएका अपराधीहरुसँग घुस लिएर एक जनाबाहेक आठ जनालाई सजिलोसँग छुट्नेगरी प्रहरी प्रतिवेदन तयार पारी मुद्दा कमजोर बनाई अदालतमा पेश गरेको आरोप पनि इन्स्पेक्टर शाहमाथि लागेको छ ।
बाह्रबीसे बजारमा पसल गरी बस्ने चण्डेश्वर महतोले आफू बस्दैआएको घरसँगैकी महिलालाई हातपात गरेकोमा उनलाई कारबाही गर्न प्रहरीमा जाहेरी दिंदा इन्स्पेक्टर शाहले दर्ता नगरेको आरोप छ ।। स्थानीयको बिरोधपछि मुद्दा दर्ता गर्न बाध्य भए पनि इन्स्पेक्टर शाहले पीडक महतोसँग मिलिसकेको हुँदा ‘लड्न खोज्दा बचाउनको लागि मात्रै समातेको हो’ भनी प्रहरी प्रतिवेदन बनाई पीडकलाई उन्मुक्ति दिनेगरी मुद्दा कमजोर बनाई पेश गरेको उजुरीमा उल्लेख छ ।
इलाका प्रहरी कार्यालयको चेकजाँच कक्ष खोर्सानीबारी बजारबाट १ किलोमिटरमाथि खाग्दल भन्ने ठाउँमा चाइनातर्फ लाँदै गरेको अवस्थामा स्थानीयको सुराकीको आधारमा करोडौं मूल्य पर्ने यौनक्षमता बढाउने अवैध औषधि(४० बाकस) बरामद गरी २–३ दिन राखी घुस लिएर सुटुक्क छाडेको आरोप पनि उजुरीमा लगाइएको छ । त्यो औषधि छाड्ने क्रममा घुसको कारोबार भएको दाबी पनि उजुरीकर्ताको छ ।
तीन महिनाअगाडि नक्कली सुनलाई सक्कली भन्दै बिक्री गर्दै हिंड्ने दुई जनालाई बाह्रबिसे प्रहरीले पक्राउ गरेको थियो । तीन महिनाअगाडि नक्कली सुनलाई सक्कली भन्दै बिक्री गर्दै हिंड्ने दुई जनालाई बाह्रबिसे प्रहरीले पक्राउ गरेको थियो । तर दुई दिनपछि आर्थिक चलखेलमा मुद्दा नचलाई पक्राउ परेकाकाई छाडिएको आरोप पनि इन्स्पेक्टर शाहमाथि लागेको छ ।
जुवा खेलाउन नपाउनेहरुले उल्टो उजुरी दिंदै हिडेः प्रनि शाह
इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले खुकुरी हान्नेदेखि औषधि बरामद र महिलामाथि यौनदुब्र्यवहारको घटनामा संलग्न सबैमाथि मुद्दा चलाइएको प्रतिक्रिया दिए । उनीमाथि लागेका पाँचवटै आरोपको उनले बुँदागत रुपमा प्रतिवाद गरेका छन् । शाहले बाह्रबिसे क्षेत्रमा आफू आएपछि नै जुवा अप्रेसन सुरु गरेको बताए । उनले भने– बिगत १० बर्षदेखि जुवामा कुनै पनि मुद्दा दर्ता भएको थिएन । तर म आएपछि २ वटा जुवा केसमा मुद्दा चलाइसकेको छु । प्रहरीको सक्रियताले जुवा अखाडा बन्द भएपछि खेल्न नपाउनेहरुले जुवा अखाडा संचालन गरेको भनी उजुरी दिंदै हिडेका हुन् ।
प्रनि शाहले भने–यौनदुब्र्यवहारको बारेमा पीडित महिलाले बयानमा बलात्कार गर्न खोजेको होइन, छोएकोमात्र हो भनेका कारण जिल्ला अदालत सिन्धुपाल्चोकले १ लाख ५० हजार रुपैयाँ धरौटीमा महतोलाई छाडेको हो । प्रहरीको काम अनुसन्धान गरी मुद्दा सरकारी वकिल कार्यालयमार्फत् बुझाउने हो । अदालतबाट छुट्छन् भने प्रहरीको दोष कसरी हुन्छ ? शाहको प्रश्न छ ।
टेकनपुरको घटनामा स्थानीय जात्रा लागेको दिन ५–७ सय मानिस जम्मा भएका थिए । क्षमादेवी समूहका ९ जना जात्रा हेर्न गएका र तीमध्येको देवेन्द्र खत्री भन्नेले खुकुरी बोकेको रहेछ । खत्रीले खुकुरी बोकेको अरुलाई थाहा नभएको बयान दिएकाले उनीहरु छुटेका हुन् । प्रहरीले खत्रीसहित क्षमादेवीका ९ जनालाई नै पक्राउ गरेको थियो । खत्रीको मात्रै दोष देखिएपछि छुटेका हुन् । खुकुरी प्रहार गर्ने खत्रीलाई थुनामै राखिएको छ । पीडितलाई ३२ टाँका लगाइएको छ । इन्स्पेक्टर शाहले नक्कली सुनमा पनि ठगीमा मुद्दा चलाइएको बताए । उनले भने–‘बाहिरबाट सुनको जलप लाएको, भित्र पित्तलको बेरुवा रिङ भएको पाइएपछि ठगीमा मुद्दा चलाएको छ ।
सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले इप्रका बाह्रबीसेका प्रनिबिरुद्ध परेको उजुरीमा उठाइएका बिषय छानबिन गर्दा निराधार रहेको पाइएको बताए । उनले भने–‘बागमती प्रदेश प्रहरी कार्यालयमा उजुरी परेको हो । प्रदेश प्रहरीको निर्देशन अनुसार सबै फाइल हेर्दा यौनदुब्र्यहारमा जाहेरी दर्ता भएको पाइयो ।’
छाडेको भनिएको मानिसलाई मुद्दा दर्ता गरिएको र अरुमा पनि आधार नदेखिएको दाबी गरेका छन् । एसपी अधिकारीले जुवा खेलाउने उमेश श्रेष्ठले प्रहरीलाई घुस दिएको बयान दिएको कुराका बारेमा भने केही उल्लेख गरेनन् ।