Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जनार्दन शर्माः ऊर्जामा हाईहाई, अर्थमा नातागोताकै राइँदाई


    आइतबार, असोज २४ २०७८
    1.2K
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्रालयले विश्वबैंकको कन्ट्री डाइरेक्टरमा तीन महिना अघि पठाइएका सहसचिव श्रीकृष्ण नेपाललाई फिर्ता बोलाएर नेपाली कांग्रेसका नेता रमेश लेखकका साढुभाइ उपसचिव नरेन्द्रप्रकाश पाण्डेलाई पठाउने तयारी गरेको छ ।

    लामो समय अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखामा कार्यरत रहेका र प्रमुखको रुपमा दातृसंस्थाहरुलाई नेपालको पक्षमा विश्वासमा ल्याउनका लागि कुशलतापूर्वक भूमिका निर्वाह गर्नसक्ने क्षमता भएका सहसचिव नेपाललाई तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले गएको असारमा विश्वबैंकको कन्ट्री डाइरेक्टरमा पठाएका थिए । तर उनलाई ३ महिनामै फिर्ता बोलाएर उपसचिव नरेन्द्रप्रकाश पाण्डेलाई पठाउने तयारी अर्थमन्त्रालयले गरेको छ ।  

    shree krishana nepal.jpg
     श्रीकृष्ण नेपाल र नरेन्द्रप्रकाश पाण्डे

    अन्तर्राष्ट्रिय सहायता महाशाखामा काम गरेको अनुभवै नभएका पाण्डेलाई विश्वबैंकको कन्ट्री डाइरेक्टरमा पठाउनका लागि उनलाई अर्थमन्त्रालयमा ल्याइसकिएको छ । उनको सरुवा शुक्रबार आन्तरिक राजस्व कार्यालय नयाँबानेश्वर काठमाडौंको प्रमुखबाट अर्थमन्त्रालयमा भइसकेको छ ।

    नेपाली रुपैयाँ मासिक २० लाख भन्दा बढी तलबसुविधा हुने विश्वबैंकको कन्ट्री डाइरेक्टर पदको गरिमामै खिल्ली उडाउँदै सहसचिव नेपाललाई अपमानपूर्वक ३ महिनामै तानी उपसचिव पाण्डेलाई पठाउन लागिएको छ ।  उपसचिव पाण्डे प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुराका हुन् । त्यसका अलावा उनी देउवाका अति निकट पूर्वमन्त्री रमेश लेखकका साढुभाइ हुन् ।

    विश्वबैंकको कन्ट्री डाइरेक्टर पदमा ४ बर्ष काम गर्न मौका पाउनेले ५५ बर्ष उमेर पुगिसकेपछि आकर्षक पेन्सन सुविधा पनि पाउने भएकाले त्यो पदमा जानका लागि प्रतिस्पर्धा हुने गरेको छ । यसअघि खिलराज रेग्मी सरकारमा गृहमन्त्री भएका पूर्वमुख्यसचिव स्व. माधवप्रसाद घिमिरे पेन्सन पाउने सूचीमा थिए । तर उनले थोरै समयमात्र त्यो सुविधा पाएपछि उनको निधन भयो । 

    डा. रामशरण महत अर्थमन्त्री हुँदा २ पटक विश्वबैंकको कन्ट्री डाइरेक्टर हुने मौका पाएका महेश कार्की, कैलाश पोखरेल, मधु मरासिनी(हाल सचिव) पनि वल्र्ड बैंकको कन्ट्री डाइरेक्टर भइसकेका छन् ।

    बदनाम हुँदै मन्त्री शर्मा 

    मन्त्री शर्माले एशियाली विकास बैंकको सल्लाहकारमा आफ्नै भान्जीज्वाई शाखा अधिकृत भीमकान्त न्यौपानेलाई पठाएपछि उनी विावदमा आए । अन्तर्राष्ट्रिय समन्वय महाशाखामा कामै नगरेका न्यौपानेलाई मन्त्री शर्माले आफन्त भएकै कारण मासिक १८ लाख तलव सुविधा पाउने पदमा पठाएका हुन् । उपसचिव रमेश अर्याललाई पठाउने निर्णय भइसकेको भए पनि मन्त्री शर्माले त्यसलाई रद्द गरी न्यौपानेलाई पठाएका छन् ।   

    मन्त्री शर्माले अर्थमन्त्रालयको सचिवमा बरिष्ठताका आधारमा केवल भण्डारी, लक्ष्मण अर्यालहरुलाई लानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको निर्देशनलाई ठाडै अस्वीकार गरेका थिए । उनले प्रधानमन्त्रीको निर्देशन बिपरीत कनिष्ट सचिव मधुकुमार मरासिनीलाई लगे । मरासिनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनका आर्थिक सल्लाहकार श्रीराम पौडेलका ज्वाई हुन् । ज्वाई भएकैले कनिष्टलाई अर्थसचिव बनाएका मन्त्री शर्माले आन्तरिक राजस्व विभागको महानिर्देशकमा एनसेलको ७२ अर्ब पूँजीगत लाभकर छलीका योजनाकार शोभाकान्त पौडेललाई लगेका छन् ।

    आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा र ठूला करदाता कार्यालयका तत्कालीन प्रमुख शोभाकान्त पौडेलले टेलियासोनेरालाई एनसेलको लाभकर छली गर्न सघाएका थिए । लाभकर नतिरी एजियटालाई एनसेल बिक्री गरी टेलियासोनेराका तीन कर्मचारी स्थलमार्ग हुँदै भारतबाट टर्किस गएका थिए ।

    एनसेलका तत्कालीन कार्यकारी प्रमुख एरिम टाईलानलर, फाइनान्स निर्देशक कारोलिना  बुगैअन  र टेक्निकल बिभागका उप निर्देशक नेस्रिन सेर्मिन २०७३ बैशाख तेस्रो साता नेपालबाट आफ्नो सम्पूर्ण सरसामग्री लिएर स्थलमार्ग हुँदै भारतबाट टर्किस पुगेका थिए । यी तीनै टेलियासोनेराका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ पर्नसक्ने भएकाले स्थलमार्गबाट भागाउने योजनाकार चुडामणि शर्मा र शोभाकान्त पौडेल नै थिए । शर्मा निलम्बनमा छन् । तर पौडेलले भने एकपछि अर्को आकर्षक पद पाउँदै हाल आन्तरिक राजस्व विभागकै महानिर्देशक बनाएर मन्त्री शर्माले पुरस्कृत गरेका छन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार