काठमाडौँ, १८ जेठ । आइतबार महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यसमातहत सबै प्रहरीको कोरोनाभाइरसको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
जेठ ६ गते दुई प्रहरीमा संक्रमण देखिएपछि वृत्त र त्यहाँभित्र रहेको महिला सेल तथा ट्राफिक प्रहरी कार्यालय सिल गरिएको थियो। वृत्तका प्रमुख डिएसपी रुगम कुँवरका अनुसार आइतबार त्यहाँभित्र रहेका सबै प्रहरी अधिकारीको रिपोर्ट नेगेटिभ आएपछि काम सुचारू भएको छ।
उनले भने, ‘दुई जनामा संक्रमण देखिएपछि २३० भन्दा बढीको परीक्षण गराएका थियौं । सबैको रिपोर्ट नेगेटिभ आएको छ।’
कार्यालयका संक्रमित प्रहरीहरू पनि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। उनीहरू डिस्चार्ज भए पनि तत्काल काममा नफर्किने उनले बताए।
‘उहाँहरू ७ दिन होम क्वारेन्टिनमा बसेपछि काममा फर्किनु हुन्छ।’