काठमाडौं । पाँच बर्षपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत बृद्धि हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमार्फत् प्रहरी र सशस्त्रको रासन बृद्धि निम्ति बजेट व्यवस्था गरिएको छ ।
यसअघि केपी शर्मा ओली सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले रासन बृद्धि घोषणा गरे पनि त्यसका निम्ति बजेट विनियोजन नगरेकाले कार्यान्वयन हुन सकेको थिएन । तर शेरबहादुर देउवा सरकारका अर्थमन्त्री शर्माले बजेट नै छुट्याएपछि अब प्रहरीको रासनमा १५ प्रतिशत बृद्धि हुने भएको छ ।
नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि हालको दरमा १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्यकोषमा बार्षिक १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ ।
यसअघि २०७७ माघमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भत्ता ४० प्रतिशतले बृद्धि गर्न गृहमन्त्रालयले गठन गरेको समितिले सिफारिस गरेको थियो । पाँच बर्षदेखि प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता बृद्धि नहुँदा तल्लो दर्जाका सिपाही हवल्दारलाई जीवीकोपार्जनमा समस्या पर्दैआएको छ ।
महंगी बर्षेनी बढे पनि प्रहरी र सशस्त्रका जवानहरु पाँच बर्षअघिकै रासन भत्ताबाट जीवन गुजार्दैआएका छन् । दुवै संगठनले ५० प्रतिशत रासन भत्ता बृद्धिको सिफारिस गरेका थिए । रासनभत्ता समायानुकुल बनाउन गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा समिति गठन गरेको थियो ।
गौतम समितिले ४० प्रतिशत रासन बृद्धि गर्न सिफारिस गरे पनि सरकारले १५ प्रतशत मात्र बढाएको छ ।