काठमाडौं । केही महिनासम्म अस्तब्यस्त रहेको वीर अस्पताल पूर्णरूपमा संचालन हुन थालेको छ । दैनिक २ हजार भन्दा बढी बिरामीले सेवा लिइरहेको, टिकट काट्ने ब्यवस्था सहज भएको छ । कोभिड अस्पतालमा २ सय भन्दा बढी बिरामी उपचारत रहेका छन् ।
१ सय बेड आइसियु संचालनका लागि तयारी तीव्र रुपमा अघि बढिरहेको जनाइएको छ । सीटी स्क्यान, एमआरआई, प्याथोलोजी, इमर्जेन्सी सेवा चुस्त भैरहेको छ । यसै क्रममा अस्पतालका पूर्व निर्देशक डा. भूपेन्द्र बस्नेत वीर अस्पतालको प्रमुख प्रशासकीय प्रमुखमा नियुक्त भएपछि सुधारको क्रम अगाडि बढेको छ । केपी ओली सरकारले प्रमुख कार्र्यकारी अधिकृत नियुक्त गरेका डा. जागेश्वर गौतमको बहिर्गमनपछि वीर अस्पतालमा आएका बस्नेतले अस्पतालमा सुधार प्रक्रिया अगाडि बढाएका हुन् ।
बिगतदेखि वीर अस्पतालको खरिद एकाई र सामाजिक एकाईमा बसेर अनियमितता गरी करोडौं कमाएका केही कर्मचारीहरु डा. बस्नेतलाई असफल बनाउनका लागि मेडिकल माफिया मार्फत् चलखेल गरिरहेको समाचार स्रोतले बताएको छ । वीर अस्पतालको मेडिकल सामग्री खरिद, कर्मचारी भर्ना, ठेक्कामा कर्मचारी भर्नामा आफूनिकटसँग मिलेर एकलौटी गर्नका लागि केही रैथानेहरु सल्बलाएका छन् ।
उपकरण खरिदमा मेडिकल स्टोरका टिकाराम पनेरु, जनरल स्टोर र लेखा शाखा प्रमुख मेडिकल माफियासँग मिली कमाउँदै प्रमुख कार्यकारी अधिकृत बस्नेतलाई असफल बनाउन लागिरहेको आरोप छ । उनीहरु पुनः विनाटेण्डर सामान खरिद गर्न लागेको स्रोतको दाबी छ । उनीहरु आफूनिकट ब्यापारीलाई बस्नेत भनेकै हामी हौं, खै सामानको दररेट मिलाएर ल्याउनू भन्दै बिभिन्न होटलमा ब्यापारीसँग डिल गर्ने कार्यमा लागेको सूचना पनि पुगेको छ ।
अस्पतालमा सबैलाई थर्काउँदै हिंड्ने उनीहरुले लेखा प्रमुखको सरुवा, मेडिकल स्टोरमाथि अनुगमन, वीरबाट सरुवा भएका कर्मचारीको रवाना लगायत माग राखी स्वास्थ्य सचिव र स्वास्थ्य मन्त्रीलाई निवेदन दिने तयारी गरेका छन् ।