काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ब्यापारी र कर्मचारीको मिलेमतोमा तस्करी हुँदैआएको छ । २०७८ असोज १२ मा ब्यापारी राजेश श्रेष्ठको समूहले चीनबाट हवाई मार्ग हुँदै स्वीटर ल्याएकोमा भन्सार कार्यालयका कर्मचारीसँग सेटिङ गरी टीसर्ट घोषणा गरेका थिए । तर भन्सार विभागको अनुसन्धान तथा अनुपालन शाखाबाट खटिएको टोलीले जाँचपास भइसकेपछि ४ वटा प्रज्ञापनपत्रबाट गलत घोषणा भएको फेलापारेको थियो । ती प्रज्ञापनपत्रबाट आएका सामान गलत घोषणा गरी ५० लाख भन्दा बढी भन्सार छली गरेको भए पनि पहुँचवाला ब्यापारी भएकाले सुटुक्क १० लाख तिराएर छाडिएको स्रोतले बताएको छ ।
भन्सार विभागको अनुसन्धान टोलीले जाँचपास भइसकेको उक्त ४ वटा प्रज्ञापनपत्रको पुनः छानबिन गर्दा ५० लाख भन्दा बढी राजस्व छली भएको फेला पारे पनि राजस्व अनुसन्धान विभागमा नबुझाई सुटुक्क छाडिएको हो । पहुँचवाला ब्यापारी राजेश श्रेष्ठको समूहले अर्थमन्त्री जनार्दन शर्माको दबाबमा उक्त सामान १० लाखमात्र जरिवाना तिराई सुटुक्क लगेका छन् ।
विमानस्थल भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले मूल्यांकन गरी ब्रान्डेड स्वीटरलाई अति सस्तो टीसर्ट घोषणा गरेका थिए । राजेश श्रेष्ठ र प्रमुख भन्सार अधिकृत केसीको मिलेमतोमा गलत घोषणा गरिएको उक्त सामान करोडौं मूल्य बराबरको थियो । गलत घोषणा गरेको उक्त सामान राजस्व अनुसन्धान विभागमा बुझाउनुपर्ने हो । राजस्वमा बुझाउँदा भन्सार ऐन अनुसार आयात गरिएको सामान गलत घोषणामा संलग्न मूल्यांकनर्ता प्रमुख भन्सार अधिकृतदेखि जाँचकीसहितका कर्मचारीबिरुद्ध मुद्दा चल्छ, ब्यापारीलाई २ सय प्रतिशत जरिवाना तिराउनुपर्छ । तर भन्सारका कर्मचारीलाई जोगाउन १० लाख रुपैयाँमात्र तिराएर छाडिएको छ । ५० लाख भन्दा कम छली भएमा असुल उपर गर्ने ब्यवस्था छ ।
भन्सारछलीका सामान भित्रिएको सूचनापछि भन्सार विभागका महानिर्देशक नारायण सापकोटाले अनुसन्धान तथा अनुपालन शाखाका निर्देशकको नेतृत्वमा दुई अधिकृतसहितको टोली विमानस्थल भन्सारमा पठाएका थिए । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भन्सार छलीका सामान बरामद गरिएको स्वीकार गरे । उनले भने–भन्सार विभागबाट जाँचपास भएर गेटबाहिर नजाँदै छड्के जाँच गर्ने ब्यवस्था गरिएको छ । भन्सार विभागले अनलाइन मनिटरिङ पनि गर्छ । त्यही जाँचपासको क्रममा ४ वटा प्रज्ञापनपत्रमा गलत घोषणा भएको शंका लागि पुनः अनुसन्धान गर्नेगरी बरामद गरेको हो । ५० लाख भन्दा बढी भन्सारछली भएकोमा १० लाखमात्र तिराएर छाडिएकोबारेमा उनले केही भन्न चाहेनन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले भन्सार विभागले जाँचपास भइसकेका सामान बरामद भएको र उक्त सामान छाडिसकिएकोबारेमा जानकारी माग्दा २–३ दिनदेखि कार्यालय नगएको र केही बताउन नसक्ने जवाफ दिए । केसीले नै असोज १२ मा चीनबाट आएको भन्सार छलीको रेडिमेड गार्मेन्टको मूल्यांकन गरी गलत घोषणा गरेका थिए । केसी रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृत हुँदा पनि तस्करसँग कनेक्सन हुने कर्मचारीम अग्रपंक्तिमै पर्दछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व समूहका अकूत सम्पत्ति आर्जन गर्नेहरुको छानबिन गर्ने सूचीमा उनी पनि भएको समाचार सार्वजनिक भइसकेको छ ।
विमानस्थलका प्रमुख भन्सार प्रशासक लक्ष्मीप्रसाद निरौलासँग सामानको गलत घोषणा गरी भन्सार छली भएकोबारेमा जानकारी माग्न पटक पटक प्रयास गर्दा पनि सम्पर्कमा आएनन् ।
तस्करीको सुराकी दिने पनि ब्यापारी नै !
ब्यापारीले लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका हाकिमहरुसँग मिलेर भन्सार छली गरी महंगो र ब्रान्डेड सामान ल्याउने गरेका थिए । भन्सार विभागले अनुगमन नगर्ने र राजस्व अनुसन्धान विभागले समेत चासो नदिंदा भन्सार छली गरी सामान आयात गर्ने क्रम निर्वाध ढंगले भइरहेको थियो । महंगो र ब्रान्डेड सामान ल्याउने तर भन्सारका कर्मचारीसँग सेटिङ गरी सस्तो र कमसल सामान ल्याएको घोषणा गरी राजस्व मार्ने काम हुँदैआएको थियो । असोज १२ मा क्यारिङ–क्यारिङबीचको कसले सस्तोमा भन्सार छुटाउनेमा विवाद भयो ।
भन्सार एजेन्टहरुको यो विवादमा राजकुमार चौलागाईको समूहले सामान छुटाउन नपाएपछि भन्सार विभागमा सूचना चुहाएको स्रोतले बताएको छ । विभागले त्यही सूचनाको आधारमा छड्के जाँच गर्दा ४ वटा प्रज्ञापनपत्रमा एउटा सामान ल्याएर अर्कै घोषणा गरिएको पाइएको थियो । राजकुमार चौलागाई चीनबाट सामान ल्याउने ब्यापारी निलकन्ठ चौलागाईका छोरा हुन् । उनी एयरपोर्ट भन्सारका क्यारिङका डन नै हुन् । राई र चौलागाईको समूह विमानस्थल भन्सारका डनका रुपमा चिनिन्छन् । उनीहरुबीचको टसलले गर्दा तस्करीको तथ्य बाहिर आएको स्रोत बताउँछ । राजेश श्रेष्ठको समूहले चीनबाट सामान ल्याउँदा सधैं भन्सार छली गर्ने यही तरिका अवलम्बन गर्दैआएको छ ।