Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेइजिङको ठूलो घुसपैठ: ३८ चिनियाँ जहाज आफ्नो क्षेत्रभित्र प्रवेश गरेको ताइवानको दाबी


    आइतबार, असोज १७ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी । ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ। शुक्रवार भएको यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ।

    ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू ‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ।

    लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेर प्रतिक्रिया जनाएको छ।

    चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ।

    ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ।

    ‘चीन क्षेत्रीय शान्ति बिथोल्न नियोजित रूपमा सैन्य आक्रमणमा संलग्न छ,’ ताइवानका प्रधानमन्त्री सु जिन चाङले शनिवार सम्वाददाताहरूसँग भने।
    बेइजिङस्थित चीन सरकारले यो समाचार तयार पार्दासम्म घटनाबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन।

    यसअघि उसले यस्ता उडानहरू आफ्नो सार्वभौमसत्ता रक्षा तथा ताइवान र अमेरिकाबीचको साँठगाँठ विरुद्ध लक्षित रहेको बताएको थियो।

    ताइवानको रक्षा मन्त्रालयले वक्तव्य मार्फत २५ चिनियाँ पिपुल्स लिवरेसन आर्मीका विमानहरू आफ्नो दक्षिण पश्चिमी हवाई प्रतिरक्षा पहिचान प्रणालीमा प्रतास टापुमाथि दिउँसै प्रवेश गरेको जनाएको छ।

    त्यस लगत्तै शुक्रवार साँझ ३१ वटा थप विमानहरू त्यही क्षेत्रमा प्रवेश गरेका थिए। उनीहरू ताइवान र फिलिपिन्सको समुद्रमाथि उडेका थिए।

    ताइवानका अनुसार चार वटा परमाणु हतियार बोक्ने क्षमताका एच-६ बमवारि गर्ने विमानहरू थिए भने एउटा पनडुब्बीमाथि आक्रमण गर्ने क्षमता राख्ने विमान थियो।

    ‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन” देशको भूगोल र हवाई सीमा बाहिरको क्षेत्र हो जहाँ विदेशी विमानहरू राष्ट्रिय हितका लागि पहिचान, निगरानी र नियन्त्रण गर्न सकिन्छ। यो स्वघोषित क्षेत्र हो र प्राविधिक रूपमा अन्तर्राष्ट्रिय हवाई क्षेत्र अन्तर्गत पर्दछ।

    ताइवानका कतिपय टिप्पणीप्रति असन्तुष्टि जनाउन बेइजिङले समय समयमा यस्ता मिसनहरू सञ्चालन गर्ने गरेको छ।

    पछिल्लो मिसन के कुराको असन्तुष्टिका लागि थियो भन्ने खुल्न सकेको छैन।

    गत महिना मात्रै चीनले १९ वटा र जुन महिनामा १८ वटा विमानहरू ताइवानको प्रतिरक्षा प्रणाली क्षेत्रमा पठाएको थियो। स्रोत: बीबीसी नेपाली 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार