काठमाडौं । बालकृष्ण खाण गृहमन्त्री भएपछि प्रहरीका सरुवा बढुवा अवरुद्ध छन् । असार अन्तिममा हुनुपर्ने लेखापाल र लेखाअधिकृत सरुवा असोज १५ सम्म हुनसकेको छैन । एक बर्षमा हुनुपर्ने डीएसपी र एसपीको सरुवा १४ महिनासम्म भएको छैन । सबैको सरुवा नभइरहेको बेला प्रहरी प्रधान कार्यालयले गतहप्ता एक इन्स्पेक्टरको काजह निकालेपछि प्रहरीमा हंगामा भयो । ६ ठाउँमा इन्चार्ज भइसकेका इन्स्पेक्टर ऐनबहादुर मल्लको बाँके ट्राफिक प्रमुखमा काजसरुवा भएपछि प्रहरीभित्र उनको शक्तिका बारेमा ब्यापक चर्चा भयो ।
मल्ल प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणामार्फत् आइजीपी शैलेश थापा क्षेत्रीलाई पावर लगाई बाँके ट्राफिकमा सरुवा भएका थिए । तर पावरकै बलमा कास्की ट्राफिकदेखि नेपालगंज वडा प्रहरी कार्यालय लगायतका ठाउँको इन्चार्ज भइसकेकाले उनको बारेमा विवाद भयो । इन्स्पेक्टरमा एउटा इन्चार्ज पाउनु पनि सौभाग्य मानिन्छ । तर मल्लले ६ वटा इन्चार्ज पाइसकेकाले उनको काजसरुवा आरजु राणाकै दबाबमा भए पनि रोकिन पुगेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्स्पेक्टर राजु भण्डारीले पनि मल्लको सरुवा रोक्न लागे । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा बाँके ट्राफिकमा सरुवा भएका भण्डारी आकर्षक कमाइ हुने भएकाले त्यहाँ थमौती हुनका लागि मल्लको काजसरुवाको हल्लाखल्ला गरी रोक्नेतिर लागेका थिए । भण्डारी ओलीकै गृहजिल्ला झापाकै भएकाले बाँके ट्राफिकमा सरुवा हुन सफल भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर राजु भण्डारीमाथि मासिक १२ लाख घुस उठाएको आरोप पनि लाग्ने गरेको छ ।
कोहलपुर र नेपालगञ्जमा रहेको ट्राफिक कार्यालयले मात्र मासिक ५–५ लाख उठाउने गरेको छ । कुसुममा रहेको कार्याल्यले २० हजार, शम्शेरगञ्जले ४० हजार, चिसापानीले २५ हजार तथा कोलहपुरको मदन चोकको कार्यालयले १० हजार इन्सपेक्टरलाई बुझाउने गरेका छन् ।
सम्झना चोकको ट्राफिक बिटले १५ हजार, राझाले २५ हजार, नेपालगञ्ज बसपार्कले २० हजार, खजुरा धनौलीले १५ हजार, हलदापुरले १५ हजार तथा फुलटेक्राले ३० हजार बुझाउने गरेको छ । भण्डारीले पैसा नबुझाउने इन्चार्जलाई तत्काल तान्ने गरेका छन् ।