Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले


    शुक्रबार, असोज १५ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडाैं । मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

    पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा(एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो । 

    आगामी मङ्सिरको दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशन राजनीतिक क्षेत्रमै पहिलो हो ।

    एमालेको विसं २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो । राष्ट्रिय राजनीति र पार्टी जीवनमा देखापरेका यावत् समस्याबारे विधान महाधिवेशनमा व्यापक छलफल हुनेछ । महाधिवेशनको उद्घाटन आज अपराह्न १२ः१५ बजे पार्टीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहबीच पानसमा बत्ती बालेर गर्ने कार्यक्रम छ ।

    उद्घाटनसत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

    महाधिवेशनको दोस्रो दिन यही असोज १६ गते समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

    महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ ।

    स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ सचिव तथा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।

    विधान महाधिवेशनमा सो पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिनुभएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि तथा पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्य प्रतिनिधि रहनेछन् ।

    यसरी विभिन्न क्षेत्रबाट चुनिएर आएका छ हजारभन्दा बढी प्रतिनिधिको सहभागितामा भव्य र सभ्यरुपमा महाधिवेशन सम्पन्न गर्ने तयारी भएको मूल व्यवस्थापन समितिको प्रचारप्रसार उपसमितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए ।

    प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको एमालेले जनाएको छ । सम्मेलनस्थलको हलमा प्रतिनिधि र अन्य आवश्यक सिट प्लानिङ व्यवस्थित गरिएको छ ।

    मूल सभाहलमा तीन हजार प्रतिनिधि, हलको दायाँ बायाँका खाली हलमा एकरएक हजार प्रतिनिधिका लागि बस्ने प्रबन्ध गरिएको छ । यसरी नै हलको दायाँ बायाँका प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने एकरएक हजार क्षमताका हल निर्माण गरिएको छ । सम्पूणर्रूपमा सात हजार क्षमताका हल तयार गरिएको छ । समूह छलफलका लागि पनि व्यवस्थित स्थान तय गरिएको एमालेले जनाएको छ ।

    महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालक सबैका लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमै व्यवस्थापन गरिएको छ । महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ः०० देखि ११ः०० बजेसम्म खानाको समय छुट्याइएको छ । सो समयसीमाभित्र सबै प्रतिनिधिले खाना खाएर हलभित्र प्रवेश गरिसक्नुपर्नेछ । दिउँसोका लागि खाजाको प्याकेट प्रबन्ध गरिएको छ । साँझको खाना बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ ।

    प्रतिनिधिका लागि आवासको प्रबन्ध काठमाडौँमा रहेका प्रदेश तथा जिल्ला सम्पर्क मञ्चको सहयोगमा सम्बन्धित भूगोलका प्रदेश कमिटीले नै गर्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ । निजी साधन नभएका प्रतिनिधिका लागि ललितपुरस्थित सातदोबाटोमा झण्डासहित बसको व्यवस्था गरिनेछ । ट्राफिक तथा पार्किङको पनि यथासम्भव व्यवस्थापन गरिएको छ ।

    महाधिवेशन सम्पन्न गर्न पार्टीनिकट अनेरास्ववियु, युवासङ्घ नेपाल, जिफन्ट र खेलकुद महासङ्घबाट २०० को सङ्ख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ । कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, स्यानिटाइजरको प्रयोग र थर्मलगनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ ।

    महाधिवेशनको प्रचारका लागि वाल पेन्टिड, वाल पोष्टरिडलाई पूणर्तः बन्द गरिएको छ । प्रचारप्रसारको निम्ति मुलतः मिडियाको सहयोग लिइएको छ । यसका साथै काठमाडौँ महानगरपालिकाअन्तर्गत सडकका पोलमा रहेका बोर्डमा पोष्टर राखिएको छ । काठमाडौँको दरबारमार्ग, तीनकुने, चावहिल, चुच्चेपाटी, हात्तीसार कमलादी, थापाथलीलगायतका स्थानमा डिजिटल बोर्डका माध्यमबाट प्रचार प्रसारको प्रबन्ध गरिएको जनाइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार