काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज (शुक्रबार) दुई खेलहरु हुँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र ललितपुरबीचको खेल बिहान ९:३० बजे हुनेछ ।
करण केसीको कप्तानीमा रहेको विराटनगरले अघिल्ला दुई खेलमा हार व्यहोरेको छ। आजको खेलमा उ पहिलो जितको खोजीमा हुनेछ । विराटनगर अंक विहीन रहदै पुछारमा रहेको छ ।
कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर पनि पहिलो जित निकाल्न चाहन्छ । साविक विजेता समेत रहेको ललितपुरले ३ खेलमा मात्र १ अंक जोडेको छ। ललितपुर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
यस्तै दोस्रो खेलमा पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ। चितवन र पोखराबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । चितवनले अघिल्ला दुबै खेल जितेको थियो ।चितवन २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ । २ खेलमा ३ अंक जोडेको पोखरा लिगको तेस्रो स्थानमा छ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउनेछन्।