बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नागरिकलाई मानवअधिकारको प्रत्याभूति गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको दाबी गरेका छन् ।
हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार लागिपरेको उनले उल्लेख गरे ।
राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा आज बुटवलमा आयोजित विश्वव्यापी आवधिक समीक्षासम्बन्धी कार्यशाला गोष्ठीमा मुख्यमन्त्री केसीले द्वन्द्वका मारमा परेका नागरिकको समस्या समाधान गर्नका लागि सङ्घीय सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
मानवअधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा जातीय, लिङ्गीय, धार्मिक, साँस्कृतिकलगायत अधिकारको प्रत्याभूति गराउन आवश्यक भएको उल्लेख गरे।
लुम्बिनी प्रदेशका कानून, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले नेपालमा मानव अधिकारको अवस्थामा सुधार हुँदै गएको बताए ।