Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी लाइसेन्समा एसपीको सेटिङ, डिआइजीकोमा उजुरी 


    बुधबार, असोज १३ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • पोखरा । दुई बर्षदेखि रोकिएको सवारी चालक अनुमतिपत्र लाइसेन्सको प्रयोगात्मक परीक्षा कास्कीमा संचालन भएको छ । लाइसेन्सका लागि धेरैले पहिले दर्ता गराएकोमा कोरोना महामारीका कारण प्रयोगात्मक(ट्रायल) सकेको थिएन । कोरोना संक्रमण घट्दै गएपछि रोकिएको लाइसेन्स परीक्षा अहिले धमाधम संचालन भइरहेको छ ।

     मोटरसाइकलको हकमा दैनिक २ सय चालीसदेखि ३ सयसम्मको ट्रायल भैरहेको छ । नियमनकारी निकाय यातायात ब्यवस्था कार्यालयले चासो नदिदा अहिले पोखरामा दलालहरू मार्फत् सेटिङ मिलाएर रकम असुली गरी लाइसेन्समा पास गराउने कार्य भइरहेको छ ।

     केही सेटिङ भएका पुराना ड्राइभिङ सेन्टर तथा दलालमार्फत् रकमको लेनदेनका आधारमा लाइसेन्स वितरण गर्ने काम भइरहेको छ । केही ड्राइभिङ सेन्टरहरूको सिधै सम्पर्क ट्राफिक प्रहरीसँग भएका कारण पनि उनीहरू मार्फत् काम हुने गरेको खुलेको छ । विगतमा कास्कीको लाइसेन्सको परीक्षामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिंदै आएकोमा केही बर्षदेखि गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिकहरू खटिने गरेका छन् ।

     दलालहरूले तिनै ट्राफिक प्रहरी मार्फत् सेटिङ गरिरहेका छन् । । मोटरसाइकलको हकमा अवस्था हेरेर ३५ सयदेखि पाँच हजारसम्मको दररेट रहेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी प्रभुप्रसाद ढकालले लाइसेन्समा सेटिङ मिलाउनकै लागि आफू सरूवा भएर आउँदा इन्स्पेक्टर मनोज शाहीलाई सरूवा गरेर ल्याएका छन् । उनीहरूको महानगरीय ट्राफिक प्रहरी कार्यालयदेखि नै नजिकको सम्बन्ध भएका कारण पनि ढकालले लिएर आएको सोही कार्यालयका एक कनिष्ट अधिकृतले बताए । ढकाल आएदेखि नै लाइसेन्स हेर्ने कमान्डर यिनै मनोज शाही हुन् ।

    यसबाहेक सेटिङको सबै प्रवन्ध मिलाउने काम सई प्रमोद कँडेलले गर्दै आएका छन् । घर नै पोखरा भएका कँडेल धेरै लामो समयदेखि गण्डकी ट्राफिक प्रहरीमा कार्यरत छन् । संचार दरबन्दी भएका कँडेललाई ढकालले लाइसेन्समा खटाउँदै आएका छन् । जबकि संचारको कर्मचारीलाई त्यसरी लाइसेन्समा खटाउन पाइँदैन ।

    त्यसैगरी एसपी ढकालको बिश्वास प्राप्त रहेका असई सुरेशबहादुर थापाको हैकम पनि लाइसेन्समा उत्तिकै देखिन्छ । धादिङमा कार्यरत रहँदा होस् या बग्गीखाना जहाँ हँुदा पनि सधैं काण्ड र विवादमा पर्ने थापा पनि यहाँको ट्राफिकमा लामो समयदेखि कार्यरत छन् ।  उनले लाइसेन्समा सेटिङको चाँजोपाँजो मिलाउने काम गर्दै आएका छन् ।

    एसपी ढकालको सेटिङमा लाइसेन्समा अनियमितता भएको बिषयमा गण्डकी प्रदेशका डिआईजी दिवेश लोहनीसम्म उजुरी पुगेपछि उनले पनि चासो देखाएका छन् । एसपी ढकालले मातहतका जिल्ला इन्चार्जहरुबाट मासिक दररेट तोकेर लिने गरेको, परिवारसहित निरीक्षण भ्रमण भनेर जाने, होटलको बिलदेखि तेल र अन्य खानपानको खर्च समेत बेहोर्नुपर्ने भएपछि जिल्ला ट्राफिक प्रमुखहरु आजित भएका छन् । र, उनीहरुले एसपीलाई पठाउने नाममा रकम असुल्ने गरेको गुनासो डीआइजीकोमा पुगेपछि लोहनीले नियमित ब्रिफिङमा ढकाललाई तोकेरै गाली गर्ने गरेको र मौखिक रुपमा कारबाही गर्ने चेतावनी दिइसकेका छन् । मौखिक चेतावनी दिंदा पनि नसुध्रिएपछि उनीहरुबीच सम्बन्धमा दरार पैदा भएको छ । एसपी ढकालले कारबाहीबाट बच्न कांग्रेसका केही नेताहरु प्रयोग गरी डीआइजी लोहनीलाई भनसुन गराउँदैआएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार