काठमाडौं । पीडित महिलाको तस्वीरसहित चरित्रहत्या हुने सामग्री प्रकाशित गरेको आरोपमा चार वटा युट्युव च्यानलका संचालकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युव च्यानल संचालन गरी उक्त च्यानलमार्फत् महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको चरित्रहत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्याएको आरोप युट्युब च्यानलका सन्चालकमाथि लागेको छ ।
पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सन्चालक दाङको तुल्सीपुर स्थायी घर भएका २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबरका संचालक नुवाकोटको सूर्यगढी नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय शिशिर अधिकारी, सारैचुली मिडियाका संचालक मोरङको बेलबारी नगरपालिका स्थायी घर भएकी ३५ वर्षीया पिंकला कार्की र मोर्डन अनलाइन टिभीका संचालक दोलखाको मेलुङ गाउँपालिका स्थायी घर भएका २४ वर्षीय रोधन तामाङ रहेको ब्यूरोका एसएसपी नविन्द्र अर्यालको विज्ञप्तिमा जनाएका छन् ।