Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यादेश खारेज: मन्त्रिपरिषदले आजै पूर्णता पाउला ?


    मंगलबार, असोज १२ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेसँगै सत्ता गठबन्धनमा आबद्ध दलहरुका शीर्षनेताहरु मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले  सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले सो अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    यता दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री देउवालाई सरकार विस्तार गर्न सहज हुने भएको छ। पछिल्लो समय गठबन्धनमा आवद्द दल जनता समाजवादी पार्टी (जसपा)ले अध्यादेश खारेज नभई सरकार बिस्तार हुन नसक्ने दाबी गर्दै आइरहेको थियो। 

    यस्तै,अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे पनि सहमति भएको  छ। जसमा गठबन्धनमा आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ६/६ मन्त्रालय लिने सहमति बनेको स्रोतले जानकारी दिएको छ। 

    यद्यपी मन्त्रालयको भागबन्डा केही दिनअघि नै टुंगिएको भए पनि कसले कुन कुन मन्त्रालयमा लिने भन्ने अझै टुंगो लाग्न सकेको छैन । यदी मन्त्रालयको पनि टुंगो लागेमा सम्भवतः आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको उनको सचिवालयले जनाएको छ। 

    स्रोतका अनुसार मन्त्रिपरिषद विस्तारका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यसअघि नै सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाइसकेका छन्। जसपाले पनि मन्त्रीको टुंगो छिट्टै लाग्ने बताएको छ। 

    देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएसँगै उसले मन्त्रीहरुको टुंगो लगाएको स्रोतले जनाएको छ।त्यसमध्ये अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल यसअघि नै मन्त्री भइसकेका छन् । अब देउवा सरकारमा माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री मात्र थप हुनेछन्।

    पेरिसडाँडा स्रोतका अनुसार माओवादीले यसअघि मन्त्री नभएकालाई प्राथमिकतामा राखेको छ । जसमा स्थायी समिति सदस्य देवेन्द्र पौडेल मन्त्री हुने पहिलो लिस्टमा रहेका छन्।

    यस्तै, अर्का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ पनि सरकारमा जान खोजेका थिए । तर, प्रतिनिधिसभा चुनाव हारेका कारण उनी सरकारमा गए नराम्रो सन्देश जाने भन्दै माओवादीले अञ्जना विशंङखे र शशी श्रेष्ठमध्ये एक जनालाई अगाडि सारेको छ।

    सबै समुदाय र भूगोलको प्रनिधित्व गराउनुपर्ने कुरालाई आत्मसाथ गर्दै माओवादीले सुदन किराती, महेश्वर गहतराजलाई पनि मन्त्री बनाउने तयारी गरेको छ । यता मधेशी र थारु समुदायबाट भने अमनलाल मोदी र सन्तकुमार चौधरी पनि मन्त्रीको लाइनमा रहेको स्रोतको दाबी छ।

    यसैगरी, नेकपा एकीकृत समाजवादीले पनि नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । पार्टीका अनुसार अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलका तर्फबाट मन्त्री हुनेको लिष्ट प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । जसमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ छन्। यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने स्रोतको दाबी छ ।

    २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हाल एक राज्यमन्त्रीसहित ६ जना मन्त्री छन् । सरकार बनेको दुई महिना बढीहुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार