काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सुमेरु सिटी अस्पतालमा छापा हानेको छ।
अस्पतालले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क असुलेको उजुरीपश्चात् ललितपुर प्रशासनले आइतबार छापा मारेको हो । प्रशासनले अस्पताललाई ३० हजार रुपैयाँ जरिवाना समेत गरेको छ।
सेवाग्राहीले अस्पतालविरुद्ध उजुरी गरेपछि अनुगमनका लागि ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको टोली अस्पताल पुगेको थियो।
‘संयुक्त अनुगमन टोलीले स्थलगत निरीक्षण गर्दा सरकारले तोकेको भन्दा १५ सय बढी शुल्क असुलेको पाइयो’, ‘बस्नेतले भने, ‘एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकिएको छ। तर अस्पतालले एन्टिजेन परीक्षण गर्न आउने बिरामीसँग २ हजार ५ सय रुपैयाँ लिएको प्रमाण भेटिएपछि कारबाही गरेका हौं।’
उनका अनुसार सेवाग्राहीले देख्नेगरी मूल्य सूची राख्नु पर्ने र प्रत्येक १५-१५ दिनमा शुल्क उठाएको विवरण पेश गर्न निर्देशन दिइएको छ ।