काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि उत्कृष्ट जित हाँसिल गरेको छ।
अबुधाबीमा शनिबार भएको खेलमा दिल्लीले राजस्थानलाई ३३ रनले पराजित गरेको हो।
दिल्लीले दिएको १ सय ५५ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो ।
राजस्थानका कप्तान सन्जु सामसनले ७० रनको उत्कृष्ट इनिङ खेलेपनि टोलीलाई जित दिलाउन भने सकेनन् ।
दिल्लीका एन्रिच नोर्कियाले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो ।
दिल्लीका श्रेयस एयरले ४६ रन जोडे । सिमरन हिटमायरले २८ रन जोड्दा कप्तान ऋषव पन्तले २४ रन बनाए ।
राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले २/२ विकेट लिए ।
यस जितसँगै दिल्ली १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित राजस्थान ९ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेको छ ।