काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स–११ ले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो ।
ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लको उत्कृष्ट प्रदर्शनमा काठमाडौंले ललितपुरलाई हराएको हो ।
काठमाडौंको जितमा जिम्बाब्बेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै, अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे ।
ललितपुरका पवन सर्राफले १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए ।
प्रतियोगितामा आज दुई खेल हुँदैछ।