वासिङ्टन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता हुने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेका भएका मोदीले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्ने कार्यक्रम तय भएको छ ।
बाइडेनले गत २० जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि यी दुई नेताबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले जानकारी दिएका छन्। तीन दिने अमेरिका भ्रमणका क्रममा उनले अन्य देशका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ । सबै भेटवार्तामा उनले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्बन्धलाई अझ बलियो बनाउनेलगायतका विषयमा कुराकानी हुने भएको छ ।
प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङवादसँग लड्ने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ ।
उनीहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई दुई देशका बीचमा अझ बलियो बनाउने बारेमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको पछिल्लो घटनाक्रम र क्षेत्रीय सुरक्षा स्थितिबारे छलफल हुने बताइएको छ ।
बुधबार अमेरिका आउनु भएका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिने र संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उनले क्वाड शिखर सम्मेलनमा शुक्रबार नै भाग लिनुहुने छ भने न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्को ७६औं महासभालाई शनिबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
क्वाड सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसमेत सहभागी हुनुहुने भएको छ ।प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५ को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्ने तालिका रहेको छ । एजेन्सी