Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमलपोखरी पुननिर्माणको काम ९५ प्रतिशत सम्पन्न, मेयर शाक्यद्वारा निरीक्षण 


    शुक्रबार, असोज ८ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौँ । कमलपोखरी पुननिर्माणको पहिलो चरणको काम करीब ९५ प्रतिशत सम्पन्न भएको छ । पुननिर्माणपछि लबालब (टनाटन) पानी भरिएको कमलपोखरीको निरीक्षणका सिलसिलामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

    काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि आज कमलपोखरी पुग्नुभएका शाक्यले केही समय अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुशी लागेको बताउनुभयो । उहाँले छिटै कमलपोखरीको उदघाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्ने योजना रहेको पनि बताउनुभयो । ‘सबैले रानीपोखरी मात्रै देखेका छन्, हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ,’ उहाँले भन्नुभयो, ‘एकातिर पानी अर्काेतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुननिर्माण अघि बढाएका छौँ ।’

    kamalpokhari 1.jpg
    कमलपोखरी पुननिर्माणको निरीक्षण गर्दै मेयर शाक्यसहितको टोली

    उहाँले पानी पुनर्भरण र पानी शुद्धीकरण गर्ने योजनासहित पोखरी पुननिर्माण गरेको स्मरण गराउनुभयो । ‘पहिला बेबारिसे र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक  र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका हौं,’ शाक्यले झिँगटीको छानामुनीको मण्डपबाट लबालब (टनाटन) पानी भरिएको कमलपोखरीतिर चोरीऔँलाले देखाउँदै भन्नुभयो, ‘बर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुननिर्माण गर्दै पुनर्जीवन दिने काम गरेका छौँ ।’

    मेयर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सबै पोखरीहरुको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाको अभियान रहेको भन्दै त्यही अभियान अन्तर्गत कमलपोखरीको पुननिर्माणको काम संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएको  स्मरण गराउनुभयो । ‘पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । केही अनावश्यक विवाद झिकेर र कोभिडका कारण समयमा सम्पन्न गर्न सकेनौँ,’ उहाँले भन्नुभयो, ‘पहिलो चरणको काम सम्पन्न गर्ने वित्तिकै अब दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात पहिला कमलपोखरी प्रहरी बीट रहेको करीब पाँच रोपनी क्षेत्रलाई  विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौं ।’

    उहाँले काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरुप काम अघि बढेको पनि बताउनुभयो ।

    सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले कमलपोखरीमा चार वटा कुनामा आकर्षक र संस्कृति झल्किने चार वटा मण्डप र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँच वटा मण्डप रहने जानकारी दिनुभयो ।

    करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारित भएर निर्माण भैरहेको पनि पनि बस्नेतले जानकारी दिनुभयो । उहाँले परम्परागत नेवारी शैलीलाई आत्मसात गर्दै पोखरी पुननिर्माण गरेको पनि जानकारी दिनुभयो । ‘पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ,’ बस्नेतले भन्नुभयो, ‘पोखरी निर्माणमा नेपाली ईंटा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ । त्यसैगरी  विभिन्न ठाउँमा चैत्य र पाँचवटा मकरधार रहने छन् ।’ उहाँले पोखरी पुननिर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिएको जानकारी दिनुभयो । उहाँले दोस्रो चरणमा बगैँचा मात्रै रहने जानकारी दिनुभयो ।    

    काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले गेट, शौचालयको केही र रंगरोगनलगायतको मात्रै काम बाँकी रहेको जानकारी दिनुभयो । कडेल निर्माण सेवा कम्पनीले भक्तपुर र ललितपुरको बुङ्मतीका अनुभवी कामदार ल्याएर पुननिर्माणको काम गरेको जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार