Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाका नगर प्रमुख र उपप्रमुखहरुसँग उपत्यका विकास प्राधिकरणको  छलफल 


    शुक्रबार, असोज ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुसँग प्रधिकरणले हालसम्म गर्दै आएका कामहरु र प्राधिकरणको आगामी रणनीतिक योजनाहरुको बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

    प्राधिकरणको आफ्नै सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्राधिकरणले हालसम्म गरेको काम र आगामी योजनाको बारेमा प्राधिकरणका नायव बिकास आयुक्त दिलिपशेखर श्रेष्ठले जानकारी दिनुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको धारणामा प्राधिकरणको भूमिका कस्तो हुनुपर्छ भन्नेबारेमा समेत छलफल भएको थियो ।

    यसैक्रममा उपत्यका विकास प्रधिकरण र स्थानीय निकायबीच सहकार्य आवश्यक रहेको र ठूला ठूला लगानी गर्नुपर्ने कामहरु, सम्पूर्ण नदीहरुको कोरिडोर निर्माणका  कामहरु एकीकृत रुपमा अबका दिनमा प्राधिकरणले गर्नुपर्ने धारणा टोखा नगरपालिकाका प्रमुख प्रकाश अर्यालले व्यक्त गर्नुभयो ।

     त्यस्तै प्रधिकरणले योजना अनुमति दिने गरेको तर बिनाअनुमति डाँडाकाँडामा अहिले डोजर चलाउने गरेको देखिएकोले अनुमतिविना गरिने त्यस्ता कार्यलाई रोक्नका लागि पनि प्राधिकरणले ध्यान दिनुपर्ने बताउनुभयो ।

    त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले प्राधिकरण साना साना कामहरु भन्दा ठूला काममा फोकस हुनुपर्ने र उपत्यकाको नदी कोरिडोर सँगै खोलाको बहाव क्षेत्रको मापदण्ड तयार गरेर लागु गर्नुपर्ने, खोलाको सूचिकरण गर्ने, नदी सभ्यतालाई कायम गर्दे दिगो रुपमा संरक्षण कायम गर्ने, सार्वजनिक जग्गा संरक्षण जस्ता कार्यलाई प्राथमिकता दिदै नगरपालिकाहरुलाई प्रविधिक सहयोग गर्ने,  समन्वयातमक भूमिका निर्वाह गर्नुपर्ने र अझ अधिकार सम्पन्न र सशक्त भएर प्राधिकरण अगाडि बढ्नुपर्ने बताउनु भयो । 

    त्यस्तै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले काठमाण्डौ उपत्यकाको मास्टर प्लान काठमाण्डौ उपत्यका विकास प्रधिकरणले बनाउनुपर्ने, प्रधिकरणले नगरपालिकासँग समन्वय गरेर विकासनिर्माणका कामहरु गर्नुपर्ने र अनधिकृत रुपमा भएको जग्गाको खण्डिकरण नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

    त्यस्तै उपत्यकाभित्र बस्ती विकासका लागि योग्य ठाउँ पहिचान गरेर व्यवस्थित वस्ती विकासमा पनि उपत्यका विकास प्रधिकरणले काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यस्तै विगत दश पन्ध्र बर्षदेखि शुरु भएका ल्याण्डपुलिङ् आयोजनाहरु समयमा सम्पन्न हुन सकेका छैनन् । यसलाई निश्चित समय तोकेर सम्पन्न गर्नेगरी काम गर्नुपर्ने नत्र स्थानीय जनताहरुले सधैं दुःख पाइरहने संभावना रहको बताउनुभयो ।

    चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले बाहिरी चक्रपथ काठमाडांैको सवारी चापलाई नियन्त्रण गर्ने एउटा मात्रै विकल्प भएकोले छिटोभन्दा छिटो काम शुरु गरिहाल्नुपर्ने विगतमा जस्तो कुरामात्रै होइन, चक्रपथलाई बिशेष प्राथमिकतामा राखेर अगाडि बढाइहाल्नुपर्ने बताउनुभयो । बर्षौंदेखि जग्गा रोकेर काम पनि नगरेको र फुकुवा पनि नगरेकाले अब यसलाई प्रक्रिया अगाडि बढाइहाल्न सुझाव दिनुभयो ।

    त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा क्षेत्रमा समार्ट सिटीको लागि भनेर जग्गा रोकेर राखेको भए पनि अहिलेसम्म बन्न नसक्नाले जनताको विश्वास कम हुँदै गएको छ । त्यसैले स्मार्ट सिटीको कामलाई छिटो शुरु गर्नुपर्ने र जति ढिला हँदै गयो, त्यति नै काम गर्न समस्या उत्पन्न हुने बताउनुभयो । जुन क्षेत्रमा नयाँ नगर बन्न सक्दैन, त्यस्तो क्षेत्रलाई रोकेर राख्नको औचित्य नहुने बताउनुभयो ।

     त्यस्तै तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले उपत्यका विकास प्राधिकरणले साना साना काम नगरेर ठूलो बजेट पर्ने कामहरु गर्नुपर्ने र स्थानीय निकायसँग समन्वय गरेर काम गर्दा प्राधिकरणको काम प्रभावकारी हुने बताउनुभयो । त्यस्तै कागेश्वरी मनोहराकी उपप्रमुख बिन्दु पुडासैनी लगायतले आ आफ्नो धारण राख्नुभएको थियो ।

    उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले काठमाडांै उपत्यका विकास प्राधिकरणको उदेश्य काठमाडौं उपत्यकालाई पर्यटकीय, सांस्कृतिक, पुरातात्विक सम्पदाको शहरको रुपमा चिनाउँदै सम्पदाको संरक्षण गर्दै, सम्बद्र्धन गर्दै भौतिक पूर्वाधार युक्त, वातावरण मैत्री शहर बनाउने हो । उपत्यकाको समग्र विकास प्राधिकरण र स्थानिय निकायको जिम्मेवारी भएकाले आगामी दिनमा नगरपालिकाहरु र प्राधिकरणले सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

    उपत्यका विकास प्राधिकरण र स्थानीय नगरपालिकाबीचको सम्बन्ध नङ र मासु जस्तौ हुनुपर्ने भन्दै प्राधिकरणले विगतका दिनहरुमा स्थानीय निकायसँग समन्वय नगरी कामहरु गरिरहेको हो की भन्ने महसुस आफुलाई भएको र अबका दिनमा आफ्नो टिमले काम गर्दा स्तानिय निकायलाई प्राथमिकतामा राखेर समन्वयमा मात्रै कामहरु अगाडि बढाउने  प्रतिबद्धता समेत जनाउनुभयो । आफू बिकास आयुक्तको रुपमा आइसकेपछि प्राधिकरणले गर्नुपर्ने समन्वयात्मक भूमिका, अनुगमनकारी भुमिका, नियमनकारी  भूमिका, नियन्त्रण र निषेधकारी भूमिकालार्ई व्यवहारिक रुपमा निर्वाहगर्दै अगाडि बढेको र स्थानिय निकायका प्रमुख उपप्रमुखहरुले दिएको सुझाव सल्लाहलाई पनि मध्यनजर गर्दै अझ सशक्त रुपमा प्राधिकरण अगाडि बढ्ने छ उहाँले भन्नुभयो ।

    उपत्यकाभित्र जथाभावी रुपमा विना अनुमति भइरहेका जग्गाको खण्डीकरण रोक्न, मापदण्ड विपरीत बनेका संरचनाहरुलाई नियन्त्रण गर्नका लागि प्राधिकरणले विभिन्न समिति बनाएर काम गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा नयाँ नगर र बाहिरी चक्रपथ निर्माण प्राधिकरणको ठूलो योजना र अहिलेको प्रमुख प्राथमिकता रहेकोले यस कार्यमा स्थानीयसँग सहकार्य गरेर मात्र अगाडि बढ्ने पनि बताउनुभयो । त्यस्तै उपत्यकाका बिभिन्न नगरपालिकाहरुमा रहेको सार्वजनिक जग्गा संरक्षण र पार्क निमाणका कार्यलाई प्राथमिकताका साथ स्थानिय निकायसँगको सहकार्यमा अगाडि बढाउने बताउनुभयो  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार