Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा दशैं विशेष सुरक्षा योजना लागू : खतरा महसुस हुने वित्तिकै प्रहरीलाई खबर गर्न आग्रह


    शुक्रबार, असोज ८ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौँ । प्रहरीले नेपालीहरुको मुख्य चाडपर्व (दशैं-तिहार) नजिकिएसँगै सर्वसाधारणहरुको सुरक्षालाई लक्षित गरेर विशेष योजना सार्वजनिक गरेको छ। 

    महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा सार्वजनिक अपिल जारी गर्दै चाडपर्वमा हुने सम्भावित खतराबाट जोगिन अनुरोध गरेको छ। 

    यस्तै, प्रहरीले चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने शङ्कास्पद व्यक्तिबारे सूचना दिएर सहयोग गर्न प्रहरीले नागरिकमा अपिल गरेको छ ।

    सम्भावित घटना रोक्न काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू गरी प्रहरीले निगरानी बढाइसकेको र अन्य जिल्लामासमेत लागू गर्ने क्रममा रहेको एआईजी हरिबहादुर पालको भनाइ छ।

    एआईजी पालका अनुसार ७७ जिल्लामा चाडवाडका बेला हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष योजनाका साथ अघि बढ्न सबै जिल्लामा निर्देशन गइकेको छ । सोहीअनुसार आआफ्नो क्षेत्रमा प्रहरीले विशेष ध्यान दिन थालेको छ ।

    यस्तै, काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातको समयमा आफ्नो घर टोलमा होहल्ला गरी हिँड्ने तथा शङ्कास्पद गतिविधि देखिएमा प्रहरीमा खबर गर्न, जुवा, तास, ढुकुटी खेल्ने-खेलाउनेको जानकारी दिन, नौला र असामान्य व्यक्ति बारम्बार देखिएमा निगरानी राखी सोधपुछ गर्न पनि आग्रह गरेका छन्  ।

    उनका अनुसार राजधानीको सुरक्षा योजना मुलतः ४ कुरालाई ध्यानमा राखेर बनाइएको छ । पहिलो राजधानीको सुरक्षा व्यवसथा त्रुटिरहित, भरपर्दो र विश्वसनीय बनाएर जनजीवना सामान्य बनाउने र दोस्रो देशविदेशबाट घर फर्किएर राजधानी हुँदै गन्तव्यमा जाने यात्रुलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउनु, तेस्रो र चौथो कुरालाई कुनै पनि किसिमको असामाजिक, अप्रिय र अपराधिक घटना हुन नदिनू। 

    योजनाअनुसार ३ हजार ३०२ जना जनशक्ति राजधानीमा परिचालित हुनेछन् । प्रहरीका अनुसार दशैंको समयमा चोरी, जुवातास, गुण्डागर्दी, पाकेटमारी जस्ता गतिविधि हुनसक्छन् । त्यससलाई लक्षित गरेर मानिसहरुको भिडभाड हुनसक्ने स्थानमा विशेष टोली खटाइएको एसएसपी सिंहले जानकारी दिए। 

    यस्तै, प्रहरीले खशी, कुखुरा किनबेच हुने बजारमा सुरक्षार्थ ५ टोली परिचालन गरेको छ । राजधानीका मन्दिरहरुमा नियमित सुरक्षाबाहेक १२ वटा टोली परिचालित छ ।

    ‘५ वटा स्टइकिङ, २२ वटा एम्बुसिङ र निगरानी र ४६ वटा क्रस चेकिङ पनि राखेका छौं’ एसएसपी सिंह भन्छन्, ‘टिकट काउन्टरमा ११ वटा टोली परिचालन गरेका छौं ।’ गाडीमा लुटपाट हुनसक्ने भएकाले सादा पोशाकको टोली खटाइसकिएको उनले बताए ।

    सिंहका अनुसार ३६ वटा टोली ‘कर्डन एण्ड सर्च’ अपरेशनका लागि राखिएको छ । वृत्तका आधारमा क्षेत्र भिाजन गरेर २४ मोबाइल टोली परिचालत गरिएको छ, तत्काल रेस्पोन्सका लागि ७६ वटा मोटरसाइकल टोली राखिएको छ ।

    सिंहका अनुसार राजधानी प्रवेश गर्ने नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । ‘प्रतिबन्ध वस्तु आउनसक्ने भएकाले कुकुरसहितको टोली राखिएको हो’ उनले भने, ‘रिङरोडभित्र र बाहिर छुट्टाछुट्टै तरिकाले सुरक्षाकर्मी परिचालन गरिएको छ ।’प्रहरीका अनुसार अपराध महाशाखासँग समन्वय तथा सहकार्यमा सादा पोशाकको टोली समेत खटाइएको छ । अपराध बढी हुने सम्भावित स्थानमा सादा पोशाकको टोली परिचालन गरिएको छ ।

    राजधानीबाट बाहिर जाने यात्रुलाई सहजताका लागि काठमाडौंका ९ स्थानमा सहायता कक्ष राखिएको छ । काठमाडौं प्रहरीका अनुसार सुन्धारा, गौशाला, चाबहिल, नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी र बालाजुमा ती हेल्प डेस्क राखिएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार