विराटनगर । जिल्ला अदालत मोरङले छोरी बलात्कारको आरोप लागेका पुरुषलाई पाँच लाख रुपैयाँ धरौटीमा छाडेको छ ।
१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लागेका बेलबारीका ५१ वर्षीय पुरुषलाई न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
गत माघ २० गते राति बलात्कार भएको भन्दै भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी परेको थियो ।
पीडित बालिकाकी आमाका अनुसार आमा–बुबाबीच अंश र सम्बन्ध विच्छेदको मुद्दा चलिरहदाँ नागरिकता बनाउन र जन्मदर्ता लिनका लागि छोरी घरमा गएकाे बेला आरोपीले करणी गरेका थिए ।
बालिकाले दिएको जाहेरीमा माघ २० गते राति हजुरआमासँग सुतेका बेला ओछ्यानबाट उठाएर स्टोर कोठामा लगेर बुबाले करणी गरेको उल्लेख भएपनि आरोपीले माघ २० गते राति छोरी घरमा नभएको र आफू पनि काममा गएको दाबी गरेका छन् । हजुरआमाले पनि २० गते नातिनी आफू सँगै नसुतेको वयान दिएकी छन् ।
अदालतले पीडित किशोरीको मेडिकल रिपोर्ट, आरोपी र आरोपीकी आमाको बयानका आधारमा अभियुक्तलाई धरौटीमा छाडेको हो ।