एजेन्सी । लिथुएनियाको रक्षा मन्त्रालयले उपभोक्ताहरूलाई चलाइरहेको चिनियाँ फोन फाल्न र नयाँ नकिन्न भनेको छ । लिथुएनियाको इन्टरनेट सुरक्षा सम्बन्धी निकाय नेशनल साइबर सेक्युरिटी सेन्टरले चिनियाँ उत्पादकहरूका फाइभ जी मोबाइल फोनहरूको परीक्षण गरेको थियो ।
अनुसन्धानकर्ताहरूले अध्ययन गरेको एउटा साओमी फोनमा पहिले नै सेन्सर गर्ने औजारहरू जडान रहेको र अर्को हुआवेई मोडेलको फोनमा सजिलै साइबर आक्रमण हुनसक्ने फेला पारेका थिए ।
बीबीसी न्यूजका अनुसार हुआवेईले प्रयोगकर्ताहरूको तथ्याङ्क र जानकारी फोनबाट बाहिर पठाउने नगरिएको जनाएको छ ।
लिथुएनियाका रक्षा उपमन्त्री मार्गिरिस अबुकेभिसिअसले भने–‘नयाँ चिनियाँ फोन नकिन्न र आफूसँग भएको फोन पनि सकेसम्म छिटो त्याग गरिहाल्नु पर्छ भन्ने हाम्रो सुझाव छ ।’
लिथुएनियामा गरिएको अध्ययनको प्रतिवेदनका अनुसार साओमीको सर्वाधिक चर्चित मी टेनटि फाइभजी फोनमा यस्तो सफ्टवेयरहरू रहेको पाइयो जस्ले तिब्बती स्वतन्त्रता सम्बन्धी नारा ‘फ्रि टिबेट’, ताईवानको स्वतन्त्रता सम्बन्धी ‘लङ लिभ ताइवान इन्डिपेन्डेन्स’ वा प्रजातान्त्रिक आन्दोलन जनाउने ‘डिमोक्रेसी मुभमेन्ट’ जस्ता शब्दहरूलाई पत्ता लगाउने र सेन्सर गर्ने क्षमता राख्दछन् ।
उक्त फोनमा रहेका प्रणालीगत एप र ब्राउजरले ४४९ भन्दा बढी शब्दावलीहरू सेन्सर गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदनको विवरणबारे टिप्पणीका लागि गरिएको बीबीसीको प्रयासमा साओेमीले प्रतिक्रिया जनाइसकेको छैन ।
साओेमीका फोनहरूले फोन प्रयोग सम्बन्धी डेटा सिंगापुरस्थित सर्भरमा पठाउने गरेको पनि अध्ययनका क्रममा पत्ता लागेको जनाइएको छ ।
हुआवेइको पीफोर्टी फाइभजी फोनमा रहेको खराबीको बारेमा पनि उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त कमजोरीका कारण प्रयोगकर्ताको फोनमा साइबर हमला हुनसक्ने जोखिम रहन्छ ।
हुआवेइका एकजना प्रवक्ताले बीबीसीसँग कुरा गर्दै आफू जुन देशमा सञ्चालनमा रहेको हो त्यो देशको नियम कानुन कम्पनीले पालना गर्ने गरेको र साइबर सुरक्षा र गोपनीयताको विषयलाई प्राथमिकतामा राख्ने गरेको बताएका छन् ।
उनले भने–‘प्रयोगकर्ताहरूको डेटा तिनीहरूको फोनभन्दा बाहिर कतै कहिल्यै पनि प्रशोधन गर्ने गरिँदैन ।’
वानप्लसको एउटा फाइभजी मोडलको फोन पनि उक्त अनुसन्धानकर्ताहरूको टोलीले परीक्षण गरेको थियो तर त्यसमा कुनै समस्या फेला नपरेको तिनीहरूले बताएका छन् ।
यो पछिल्लो विवरण लिथुएनिया र चीनबीच तनावमा बृद्धि भैरहेको समयमा आएको छ ।
गत महिना चीनले लिथुएनियाको राजधानी भिल्नियसबाट आफ्नो राजदूत फिर्ता बोलाउने भन्दै उस्ले पनि बेइजिङबाट आफ्नो राजदूत फिर्ता लग्नुपर्ने माग गरेको थियो ।
ताईवानले लिथुएनियास्थित आफ्नो दूतावासलाई ताइवानी प्रतिनिधिको कार्यालय भनेर नामकरण गर्ने घोषणा गरेपछि उक्त पछिल्लो विवाद सिर्जना भएको थियो ।
युरोप र अमेरिकामा रहेका ताईवानी दूतावासहरूले विवाद नहोस् भनेर देशको सट्टा राजधानी ताइपेइको नामको प्रयोग गर्ने गर्दछन् । चीनले ताइवानलाई आफ्नो भूभाग मान्ने गर्दछ ।