मनाङ । जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ। जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १ मा मस्र्याङ्दीमा आएको बाढीले गाउँसँगै डुबानमा पर्यो।
गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन। गाउँवासी जङ्गलमा स्थानान्तरण भए। विद्यालयको भौतिक संरचना केहीमात्र देखिन्छ। अझै पनि बस्तीमा बाढीको जोखिम उत्तिकै छ। पहिलेको बस्तीमा गाउँवासी बस्ने अवस्थामा छैनन्। झन् विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था नै छैन।
जनप्रतिनिधिको सक्रियतामा बाढी पीडित बालबालिकालाई टेन्टमा पठनपाठनको व्यवस्था गरिएको छ। बालबालिकाको भविष्य बनाउनका लागि टेण्टमै पठनपाठन गर्ने व्यवस्था गरिएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए।
उनका अनुसार बालबालिकाको भविष्य बनाउने जिम्मेवारी भएकाले टेण्टमा नै भए पनि पठनपाठनको व्यवस्था गरिएको छ । ‘प्रकृतिले बालबालिकाको भविष्यमा नै पु¥याएको क्षतिको पूर्ति गर्नुपर्ने जिम्मेवारी हाम्रो हो, भविष्य निर्माणका लागि टेण्टमा नै पढ्ने व्यवस्था गरिएको छ, पठनपाठन सुरु पनि भइसकेको छ’, अध्यक्ष घलेले भने।
बाढी पहिरोका कारण स्थानान्तरण भएका बालबालिकाको भविष्यलाई लक्ष्य गरी पठनपाठनको व्यवस्था गरिएको उनले बताए। भर्खरैमात्र कोभिड–१९ बाट केही हदसम्म तंग्र्रिएको अवस्थामा पुनः बाढीले थलिएका बेला गाउँपालिकाका जनप्रतिनिधिले सहयोग पु¥याएको भानु माविका प्रधानाध्यापक श्याम पन्थीले बताए।
‘उहाँहरुको सहयोगले अस्थायी तवरबाट टेण्ट टाँगी बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चतता गरिदिनुभएको छ’, पन्थीले भने।
बालबालिकाको पठनपाठनका लागि ताल गुम्बाको प्राङ्गणमा व्यवस्थापन गरिएको छ। बाढीले बालबालिकामा मनोवैज्ञानिक असर पनि पारेको छ।
नासों–१ तालगाउँस्थित भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ। तीन मावि र एक आधारभूत विद्यालयमा बाढीका कारण क्षति पुगेको छ। यी विद्यालयमा पठनपाठन गराउन सकिने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए।
बाढी पहिरोपछि मनाङमा कोभिड न्यूनीकरण भएसँगै विद्यालय खुला गरिएको उनले बताए।
जिल्लाका चार माविमध्ये मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माविमात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए। सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमुना विद्यालय लोकप्रिय माध्यमिकमा आउजाउका लागि नेपाली सेनाको श्रमदानमा फड्के र तारबार गरिदिएपछि पठनपाठन सञ्चालन भइसकेको छ। छात्राबाससहितको विद्यालयको एकचौथाइ भागमात्रै बाँकी रहे पनि पठनपाठन भइरहेको छ।