काठमाडौं । सरकारले संविधान दिवसका दिन प्रदान गरेका बिभूषण विवादको घेरामा परेका छन् । कतिपय पत्रकारहरुले विभूषण नै नलिने घोषणा गरिसकेका छन् । पत्रकारबाहेक अरुले भने बिभूषण नलिने घोषणा गरेका छैनन् ।
सरकारले दिने मान पद्वी र बिभूषण कतिसम्म हचुवा ढंगले दिइन्छ त ? तक्माको अपारदर्शी चलखेलमा गृहमन्त्री बालकृष्ण खाणकै नाम मुछिएको छ । गृहमन्त्री खाणले जनस्वास्थ्यमा गम्भीर आघात पुर्याउने र राजस्व चुहावटमा संलग्न एकै सूर्ति उद्योगका ३ संचालकलाई बिभूषण प्रदान गरेका छन् ।
बुटवलको श्रीराम टोबाको कम्पनीका संचालक कमलकिशोर मालपानी, चुन्नुप्रसाद शर्मा पौडेल र नरिश्वर पौडेललाई गृहमन्त्री खाणकै सिफारिसमा २०७८ को जनसेवाश्री विभूषणबाट बिभूषित गरिएको छ । कमलकिशोर मालपानी र पौडेलको श्रीराम टोबाकोले करेन्ट र भोला छाप खैनी र गुट्खा उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलवाड गर्दैआएको छ ।
सर्वोच्च अदालतले १४ पुस २०७० मा खैनी, चुरोट, गुट्खा, बिडी लगायत सुर्तीजन्य उत्पादनको बट्टाको ७५ प्रतिशत भागमा क्यान्सरले फोक्सो कुहिएको रंगीन चित्र राख्नुपर्ने फैसला सुनाए पनि श्रीराम टोबाकोले त्यसबिपरीत उत्पादन गर्दै बिक्री बितरण गरिरहेको छ । श्रीराम टोबाकोले गुट्खा र खैनीमा राजस्वको स्टीकर नटाँसी करोडौं राजस्व छली गरेको छ ।
खतराको चिह्न राख्नैपर्ने सर्वोच्चको आदेश समेत अवज्ञा गर्दै मासिक दसौं करोडको गुट्खा र खैनी बिक्री गर्ने मालपानी र पौडेल बन्धुहरुले बिभूषण लिन ठूलै रकम गृहमन्त्री खाणका आसेपासेमार्फत् खर्च गरेको चर्चा बुटवलमा छ ।
राजश्वको स्टीकर नभएका गुट्खामा कुनै कर नलाग्ने र सस्तो पर्ने भएकाले त्यस्ता कर छली गरेका गुट्खा मालपानी र पौडेलहरुले बिक्री गरी रातारात करोडौं करोडका मालिक भएका हुन् ।
११ करोड राजस्व छलीमा श्रीराम टोबाको
श्रीराम टोबाको कम्पनीले गुट्खा र सुर्ती उत्पादन गरी राजस्व छली गरेको प्रमाण भेटिएपछि राजस्व अनुसन्धान विभागले २०७६ पुसमा काठमाडौं र रुपन्देहीमा मुद्दा दायर गरेको थियो । विभागले बुटवल नगरपालिका–१२ मा रहेको श्रीराम टोबाकोलाई १० करोड ७३ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
कम्पनीका संचालक कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल लगायतले कम्पनीबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सुर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न बिक्रेताहरुको सहयोगमा स्टीकर र कर बिजक बिना मालवस्तु बिक्री गरेको पाइएको विभागले जनाएको थियो ।
भोला र करेन्ट ब्रान्डका अलावा कमल किशोर मालपानी र पौडेल बन्धुले नेपाली बजारमा अरु विभिन्न नामका गुट्खा र सुर्ती बिक्री गरी राजस्व मार्ने काम गर्दैआएका छन् । भारतीय राज्य बिहार र उत्तर प्रदेशमा प्लाष्टिकको प्याकेटमा सूर्ती र गुट्खा बिक्री गर्न प्रतिबन्ध लागेपछि मालपानीहरुले नेपालबाट भारततर्फ सुर्ती र गुट्खा तस्करी समेत गर्दैआएका छन् । भारतीय बजारमा गुट्खाको माग बढी छ ।
श्रीराम टोवाको कम्पनीबाट उत्पादित भोला र करेन्ट गुट्खाको अवैध कारोबार गर्दै करोडौैं राजस्व ठगी गर्दैआएका मालपानी र पौडेलले आफ्नो कर्तुत ढाकछोप गर्नका लागि रुपन्देहीकै गृहमन्त्री खाण भएको बेला उनका आसेपासेलाई आर्थिक प्रलोभन दिई पदक हत्याउन सफल भएका छन् ।