काठमाडौं । संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ६ वर्ष पूरा भएको अवसरमा सविधान दिवस भव्यताका साथ मनाइएको छ ।
सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयता सहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।
सैनिक मञ्च टुँडिखेलमा आज बिहान संविधान दिवस मूल समारोह समितिद्वारा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।
टुँडिखेलमा आयोजित समारोहमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।
संविधान दिवस सरकारले असोज दुई गतेदेखि चार गतेसम्म तीन दिने कार्यक्रम गरेर मनाइरहेको छ । आज मुख्य दिन घरघरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन सरकारले सबै नेपालीहरुलाई आह्वान गरेको छ ।



