काठमाडौं । संविधान दिवसको अवसरमा प्रदान गरिने विभिन्न मानपदवी र विभूषणबाट यसपटक ९ सय ३ जनालाई सम्मानित गरिने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएकी हुन्। जसमा सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिनेछ।
यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन्। यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ।
त्यस्तै भूमिगत गायिका विष्णु माझीलाई प्रबल जनसेवाश्री पदकबाट सम्मान गरिने भएको छ। गीत चर्चामा आएपनि लामो समयदेखि सार्वजनिक नभएकी गायिका माझीलाई पनि पदकबाट सम्मान गर्न लागिएको हो।
पछिल्लो समय ‘चरी जेलैमा’ भन्ने गीत हिट भएपछि उनको खोजी भएको थियो। मानवअधिकार आयोगले विष्णु माझीको अवस्थाबारे जानकारी गराउन जिल्ला प्रशासन कार्यालयलाई पत्र पनि लेखेको थियो। चरी जेलैमा गीतलाई उनको जीवनसँग जोडेर पनि चर्चा गरिएको छ।
यस्तै, गायकहरू हेमन्त शर्मा, प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक अनमोल केसीलाई पनि विभूषित गरिने भएको छ। यसैगरी, पशुपतिमा लास जलाएर उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेकी सपना रोका मगर, एसिड पीडित मुस्कान खातुन, तेजिया फौजा मगर, यौनिक अल्पसंख्यक अभियान्ता भूमिका श्रेष्ठ, पर्वतारोही कल्पना महर्जनलगायतलाई पनि महत्वपुर्ण विभूषण प्रदान गर्न लागिएको छ।