काठमाडौं, २३ फागुन । मन्त्रीलाई नमस्कार नगरेका कारण मन्त्रालयका उपसचिव, सहसचिव र सचिवसमेत कोपभाजनमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले आफूलाई नमस्कार नगरेबापत नै उपसचिवदेखि सचिवसम्मलाई सरुवा गरेको खुलासा भएको छ ।
आइतबारको मन्त्रिपरिषद बैठकले संघीय मामिला मन्त्रालयका सचिव यादव कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा गरेको छ । सरकारले अरु सचिवको सरुवा पनि गरेको छ । तर सचिव कोइरालाको सरुवा भने मन्त्री त्रिपाठीको पदबहालीको कार्यक्रममा घडा नराखेको र नमस्कार नगरेबापत नै भएको उनको स्वकीय सचिवालयका एक कर्मचारीले खोलेका छन् ।
मन्त्री त्रिपाठीले पदबहालीका क्रममा आफ्नो भब्य स्वागत नभएपछि त्यतिबेलै आफ्ना निकटहरुसँग सहसचिवदेखि सबैको सरुवा गर्ने भनेका थिए, ती कर्मचारीले भने, मन्त्रीज्यूलाई नमस्कार समेत नगरेपछि लटमै सरुवा भएको हो । लालबाबु पण्डित संघीय मामिला मन्त्री हुँदाका प्रायः सबै सहसचिवदेखि सचिवसम्मको सरुवा भएको छ । कर्मचारी प्रशासन शाखाका उपसचिव चन्द्र फुयाँल र पर्व सापकोटा, इश्वर गिरी पनि कोपभाजनमा परेका छन् । कर्मचारी प्रशासनकै शाखा अधिकृत सुदर्शन दाहाललाई प्रदेशतिर पठाइएको छ ।
सहसचिवहरु केदार पनेरु, भूपाल बराल, बाबुराम अधिकारी पनि सरुवा भएका छन् । मन्त्री त्रिपाठीको उचित भक्तिभाव गरेर हो वा किन हो अर्का सहसचिव जयनारायण आचार्य भने यथावत छन् ।
मन्त्री त्रिपाठी तत्कालीन एमालेको चुनाव चिह्न सूर्यमा भोट पाएर जितेका हुन् । तर उनी आफूलाई स्वतन्त्र भन्न रुचाउँछन् । कानुनतः उनी नेकपाकै सांसद भए पनि स्वतन्त्र भन्दैआएका छन् । उनले मन्त्रालय सम्हाल्नासाथ नेकपाका मन्त्री पण्डितको कार्यकालमा बसेका उपसचिवदेखि सहसचिव र सचिवको सरुवा गरेका छन् । र, विगतमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट भौतिक पूर्वाधार मन्त्री हुँदाका शाखा अधिकृतदेखि सहसचिवसम्मलाई भित्र्याएका छन् । सचिवमा भने मन्त्री त्रिपाठीको सेटिङमा काम गर्नेगरी सूर्यप्रसाद गौतमलाई लगिएको छ । गौतम सेटिङमा माहिर सचिवका रुपमा चिनिन्छन् ।