एजेन्सी। उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ। छ महिनापछि फेरि प्योङ्याङले बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हो।
दक्षिण कोरिया र चीनले उत्तर कोरियालाई निरस्त्रीकरणसम्बन्धी वार्तामा फिर्ता ल्याउने प्रयास गर्न वार्ता गरिरहेको बेला क्षेप्यास्त्र परीक्षण भएको हो।
केही दिनअघि पनि उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो। यसबाट प्योङ्याङले अस्त्र विकास र निर्माणको कामलाई निरन्तरता दिएको देखिन्छ।
विज्ञहरूका अनुसार अस्त्र निर्माण गर्ने प्रविधिमा सुधार गर्न र अमेरिकासँग वार्ताका लागि आफ्नो हात माथि राख्न प्योङ्याङले त्यस्तो परीक्षण गर्ने गरेको छ। तर दक्षिण कोरियाको सेनाको सर्वोच्च निकायले आफ्नो सेना “अमेरिकासँगको सहकार्यमा पूर्ण तयारीको अवस्थामा बसेको” जनाएको छ।
बलिस्टिक क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाको परमाणु गतिविधि नियन्त्रण गर्ने संयुक्त राष्ट्रसङ्घीय सङ्कल्प प्रस्तावविरुद्ध छ।
गत सोमवार पनि उत्तर कोरियाले लामो दूरीको क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो। उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ।
प्योङ्याङले उक्त क्षेप्यास्त्रलाई “ठूलो महत्त्वको रणनीतिक अस्त्र” भनेको छ। विज्ञहरूका अनुसार उक्त क्रूज क्षेप्यास्त्रले सम्भवतः परमाणु युद्धशीर्ष बोक्न सक्छ। राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले क्रूज क्षेप्यास्त्रको परीक्षण गर्न रोक्दैन।
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क्षेप्यास्त्र प्रहारको आलोचना गर्दै त्यसले उक्त क्षेत्रमा शान्ति र सुरक्षालाई खतरामा परेको टिप्पणी गरेका छन्।
यो साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको दोस्रो पटक हो। स्रोत : बीबीसी नेपाली