काठमाडौं । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि साधारण शेयर (आईपीओ ) निष्काशन गर्ने भएको छ। साहस उर्जा लिमिटेडले ७० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्दैछ ।
कम्पनीले निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ता आईपीओका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयरमा सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सक्ने छन् । असोज १० गतेसम्म सम्ममा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने समय लम्बिनेछ। सर्वसाधारणले साहस उर्जाको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।
साहस उर्जाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।