Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफगान छात्राहरूका लागि तालिबानद्वारा नयाँ नियमको घोषणा


    सोमबार, भाद्र २८ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु गरिने तालिबानले जनाएको छ।

    उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाएका छन्। उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन्।

    सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो। तालिबानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ।

    तर, गत अगस्ट १५ तारिखमा सत्ता आफ्नो हातमा लिएसँगै उसले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मी बाहेक अन्य महिलाहरूलाई कामबाट टाढै रहन भनेको छ।

    आफ्नो शासनको सुरुवातको सङ्केत गर्नका लागि तालिबानले राष्ट्रपति भवनमा आफ्नो झन्डा फहराएको भोलिपल्ट तालिबानको उच्च शिक्षा सम्बन्धी नीति घोषणा गरिएको हो।

    तालिबानले एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हालमा लिएको थियो। पछिल्लो नीतिले अफगानिस्तानमा तालिबान शासनसँगै व्याप्त परिवर्तनको सङ्केत गरेको छ।

    यसअघि छात्राहरूले पोसाक सम्बन्धी नियम पालना गर्नुपर्ने थिएन र महिला-पुरुष एकै कक्षामा पढ्न पाउँथे।

    पछिल्लो परिवर्तन सम्बन्धी विषयमा हक्कानीले भने, ‘मिश्रित शिक्षा प्रणाली अन्त्य गर्न हामीलाई कुनै समस्या छैन। जनता मुस्लिम हुन् र उनीहरूले यसलाई स्वीकार गर्नेछन्।’

    विश्वविद्यालयहरूसँग महिला र पुरुषका लागि छुट्टै कक्षा उपलब्ध गराउने स्रोत नरहेकाले केहीले पछिल्लो नियमले महिलाहरूलाई शिक्षाबाट वञ्चित गर्ने सङ्केत गरेका छन्। तर हक्कानीले भने पर्याप्त महिला शिक्षकहरू रहेको र उपलब्ध नरहेका स्थानमा वैकल्पिक उपाय पहिचान गरिने बताए। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार