Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुस्ताङको स्याउ असोज १ पछि मात्रै बजारमा आउने


    आइतबार, भाद्र २७ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  •  बलेवा । भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ ।

    कोरोना भाइरस सङ्क्रमण त्रासका कारण जारी निषेधाज्ञा केही खुकुलो भएपछि स्याउ बगान खरीद गर्न बाहिरी जिल्लाबाट व्यापारी मुस्ताङ पुगेका छन् । निरन्तरको वर्षा र बाढीपहिराले पनि व्यापारी यस वर्ष ढिलो गरी मुस्ताङ पुगेका हुन् ।

    मुस्ताङको स्याउ तीज अघि नै बजारमा ल्याउने व्यापारीको जोड थियो । तर, असोज लागेपछि मात्रै स्याउ बजारमा आउने छ । यसवर्ष स्याउ राम्रोसँग पाकेपछि मात्रै बजारमा पठाउने तयारी किसानले गरेका हुन् ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा आगामी असोज १ गतेपछि मात्रै बगानमा प्रवेश दिइने घरपझोङ गाउँपालिका-२ मार्फाका किसान राजुप्रसाद लालचनले बताए ।

    ‘एप्पल जोनको बैठक बसेर नियम लगाएको छ, असोज १ अघि बजारमा स्याउ जादैन,’ उनले भने, ‘खरीद बिक्रीको काम भइरहेको भए पनि बगानमा पसेर स्याउ टिप्न पाइएको छैन।’ गत वर्षभन्दा यसवर्ष मुस्ताङमा कम स्याउ फलेको उनले बताए।

    कालीगण्डकी किनार आसपासका फाँटभन्दा केही माथिल्लो भूभागको जमिनमा स्याउ कम फलेको छ । ‘हुस्सुका कारण स्याउमा रोग देखिएको छ, जसका कारण स्याउ राम्रो फलेन,’’ लालचनले भने, ‘स्याउनको लागि चर्चित मार्फा हो, पुरानो मार्फामा अहिले स्याउ गतिलो फलेन ।’

    यहाँको स्याउ असोज १५ पछि टिप्दा मात्रै राम्रोसँग पाक्न पाउने ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङका प्रमुख सुधीरा थापाले बताए । ‘भदौ नलाग्दै बजार पठाउने चलन रहेछ, स्याउको स्वाद पनि नहुने र किसानले राम्रोसँग मुनाफा लिन नपाउने हुन्छ,’ उनले भने, ‘यसवर्ष समूह र सहकारीमा आवद्ध सबैले आगामी असोज १ पछि मात्रै स्याउ टिप्ने निधो गर्नुभएको छ।’

    व्यापारी स्याउ बजार पुर्‍याउनका लागि आत्तिएको भए पनि किसान र उपभोक्ताको हितका लागि समय तोकिएको थापाको भनाइ छ । गत वर्ष ४० करोडको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्याङ्क छ । यसवर्ष गत वर्षको तुलनामा केही कम उत्पादन भएको थापाले बताए ।

    ‘औषतभन्दा पानी धेरै पर्‍यो, हिउँ पर्याप्त परेन, जसको असर स्याउको उत्पादनमा पर्छ,’ उनले भने, ‘उत्पादन दिने बिरुवाको सङ्ख्या बढेको भए पनि हावापानीका कारण उत्पादन घट्ने देखिन्छ ।’

    मुस्ताङमा एक हजार ४० हेक्टर जमिनमा स्याउ लगाइएको छ । ५०० हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमश उत्पादन दिने प्रमुख थापाले बताए । गतवर्ष यहाँको स्याउ बगानबाट प्रतिकिलो रु १०० का दरले बिक्री भएको थियो ।

    ‘बगानै ठेक्का दिने चलन छ, ठेक्कामा अझै सस्तो पर्छ, फुटकर बेच्दा मात्रै किसानले मागेको मूल्य पाएका छन्,’ प्रमुख थापाले भने । मुस्ताङको स्याउ विशेष गरेर दशैं, तिहारजस्ता पर्वमा कोसेलीको रुपमा प्रयोग हुने भएकाले बजारमा माग बढ्दो छ । बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायतका सहरमा यहाँको स्याउ बिक्री हुने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार