काठमाडौं । सर्वोच्च आदालतले नेपाल आयाल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा सहदेव बोगटीको नियुक्ति बदर गरेको छ ।
बोगटीको मनोनयन अनुचित, अनैतिक, सुशासनको मर्म विपरित र स्वेच्छाचारीपूर्ण देखिएको भन्दै न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले ११ माघ २०७७ मा भएको नियुक्ति बदर गरेको हो ।
विज्ञ सदस्यमा नियुक्त बोगटीको शैक्षिक योग्यतता एसएलसी पास छ भने रुलर वाटर सप्लाई एण्ड स्यानिटेसन फण्ड डेभलोपमेट बोर्डको सदस्य तथा खप्तड क्षेत्र पर्यटकीय विकास समितिको अध्यक्ष भई काम गरेको अनुभव देखाइएको छ ।
तर संयुक्त इजलासले यसलाई आयल निगम सञ्चालक समितिको विज्ञ सदस्य हुने चाहिने ज्ञान र अनुभव भएको मान्न नसकिने बताएको छ ।
‘यस प्रकारको प्रवृत्तिबाट सुशासन कायम गर्ने कानुनको अभिष्ट समते पुरा हुँदैन,’ फैसलामा भनिएको छ, ‘निज बोगटीलाई नेपाल आयल निगम सञ्चालन समितिको विज्ञ सदस्य पदमा गरिएको मनोनयन अनुचित, अनैतिक, सुशासनको मर्म विपरित र स्वेच्छाचारीपूर्ण देखिँदा उत्पेषणको आदेशले निजलाई मनोनयन गर्ने सम्बन्धमा भएका निर्णय, काम कारबाही पत्रचार बदर गरिएको छ ।’