Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाले सुनसान तीज


    बिहिबार, भाद्र २४ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • झापा । कोरोना कहरका कारण यसपाली हिन्दू नारीको महान पर्व तीजको रौनक सामाजिक सञ्जालमा मात्र सीमित बनेको छ । महिलाहरुले नाचेको भिडियोको पोस्टले फेसबुक र टिकटक भरिभराउ छन् तर भौतिक रुपमा कार्यक्रम भने भएका छैनन् । विगतमा तीज आउन महिना दिन बाँकी रहँदै गाउँदेखि शहरसम्म तीजका गीत गुञ्जिसक्थे । सामूहिक रुपमा भेला भएर रातो पहिरनमा नाचगान गरेर र दर खाएर महिलाहरु रमाइरहेका हुन्थे । यसपालि भने तीजमा रमाइलो गर्ने चलन कोरोना महामारीले ठप्प पारेको छ । 

    “तडकभडक र विकृति बढ्यो भनेर बिगतमा खुब आलोचना हुन्थ्यो,” नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सुभद्रा भट्टराई वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै भन्छिन्–“भेटघाट नै कम गर्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने विषम परिस्थितिले गर्दा यसपालीको तीजमा दिदीबहिनीहरुले सामाजिक सञ्जालमा मनका बह पोखेर चित्त बुझाउनुपर्ने भएको छ ।”

    कोभिड–१९ को नयाँ भेरियन्ट आइरहेको र सामूहिक जमघटलाई निरुत्साहित गर्नुपर्ने बाध्यताले तीज प्रभावित भएको जनाउँदै उनले मानिसको जीवनभन्दा चाडपर्व ठूलो नभएको बताइन् । उनी भन्छिन्, “पहिला आफू बाँचौँ र अरुलाई बचाऔँ, जीवन रहे अर्को साल तीजमा नाचौँला र रमाउँला ।” रेडियो र टिभीमा नयाँदेखि पुराना चल्तीका गीत सुनेर महिलाहरुले यसपाली चित्त बुझाइरहेका छन् ।

    भिन्न जाति र भूगोलका नेपाली महिलाले तीजलाई साझा रुपमा मनाउँछन् । तीजमा महादेवको ब्रत बस्ने र आफ्ना प्रियजनको सुस्वास्थ्य एवं दीर्घायूको कामना गर्ने चलन छ । विवाहिता नारी तीजमा माइतीघर पुग्ने र दुःख सुखका अनुभूति साट्ने गर्दछन् । गीतको माध्यमबाट मनका पीरमर्का सुनाउने र साथीसंगीसँग मिलेर उल्लासपूर्वक नाचगान गर्ने चलनले तीजलाई विशेष बनाएको हुन्छ । 

    “कोरोनाले तीजलाई घरभित्रै खुम्च्याइदियो । घरमै बसेर व्रत बस्न, दर खान रोकिदैन तर चेलीबेटीहरु माइती पुग्न यसपाली सम्भव देखिएन,” विर्तामोड उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष नैनकला भट्टराई भन्छिन्– “आफन्त, नातागोता र छिमेकीहरु शोकमा छन्, रोग र भोकमा छन् । यस्तो परिस्थितिको सामना गरिरहेका दिदीबहिनीहरु खुशीले तीज मनाउन सक्दैनन् । तीज मनाउनेभन्दा पनि आफू कसरी बाँच्ने र अरुलाई बचाउने भन्ने चिन्ताले पिरोलिरहेको देखिन्छ ।”
    यस वर्षको तीजमा भीडभाड बढाउने नाचगान र मेलाका कार्यक्रम राख्ने विषयमा कसैको रुचि देखिएन । विगतमा जस्तो सामूहिक भेला भएर दर खाने, नाच्ने, गाउने र रमाउने परिस्थिति छैन । बजारमा किनमेल र गहनाको चमक पनि छैन । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले कोरोना कहरबाट दुई वर्षमा धेरै नारीको सिन्दुर पुछिएको र पारिवारिक खुशी खोसिएको बताउँछिन् ।  उनले कोभिड–१९ को सामना गरिरहेका आम नेपाली महिलालाई यतिबेला पर्वभन्दा पनि ठूलो विषय आफ्नो जीवनरक्षा भएको बताइन् । 

    “हामी बाँचे चाडपर्व त भोलि पनि मनाउन सकिन्छ”, उनले भनिन्, “यस्तो परिस्थितिमा समूहमा भेला हुने इच्छा कसैलाई पनि छैन । बरु रचनात्मक रुपमा चाडलाई मनाउन सकिनेतर्फ सोच्नु पर्छ । घरमै बसेर चाड मनाउनु उपयुक्त हुन्छ ।” दमक नगरपालिकाले यसपालि दुःख र पीरमा परेका महिला दिदीबहिनीहरुले बनाएका सामग्रीलाई प्रदर्शनी कार्यक्रमको आयोजना गरेर फरक शैलीमा तीज मनाएको छ । पाँच दिवसीय तीज महोत्सवमा नाचगान र भोजभतेर छैन । गाउँका दिदीबहिनीले आफ्नै सीप र श्रम सिँचेर बनाएको चुरापोते, गहना, खेलौना आदिलाई प्रदर्शनीमा राखिएको छ । यसले महिलाको चाडलाई आयआर्जन र उत्पादनसँग जोड्ने उपप्रमुख अधिकारीको विश्वास छ ।

    पर्वप्रति कसैले ध्यान नदिएको र एकअर्कालाई भेटेर खुशी साटासाट गर्ने अवस्थासमेत अहिलेको परिवेशमा नरहेको सञ्जीवनी महिला विकास संस्था झापाकी अध्यक्ष रेणुका डाँगीले बताइन् ।  उनले कतिपयले परिवारको सदस्य गुमाउनुपरेको, आफन्त र नातागोता अस्पतालमा रहेकाले तीज पर्वको परम्परागत उल्लास नै नदेखिएको बताइन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार