एजेन्सी। तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको पछिल्लो युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ।
तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो। उक्त समूहले सोमवार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ, जसमा लडाकुहरूले तालिबानको झन्डा उचालेको देखिन्छ।
तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू ”सबै रणनीतिक स्थानहरूमा” उपस्थित रहेको बताउँदै ”लडाइँ जारी राख्ने” जनाएको छ।उक्त समूहका नेताले तालिबानविरुद्ध ”देशैभरि विद्रोह”को आह्वान गरेका छन्।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा अडियो रेकर्डमा न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का नेता अमहम मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाए।
”तपाई जहाँकहीँ भए पनि, भित्र वा बाहिर, हाम्रो देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि म तपाईँहरूलाई देशव्यापी विद्रोह सुरु गर्न आह्वान गर्छु,” उनले भने। भिरालो पर्वतले घेरिएको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिसहरू बसोबास गर्छन्।
यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन। सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो।
तालिबानले तीन हप्ताअघि अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो। राजधानी काबुलमा उसले अगस्ट १५ तारिखमा पकड स्थापित गरेको थियो।
पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढमा बदल्छन्। बीचबाट पन्जशिर नदी बगेको उक्त उपत्यका अफगानिस्तान र उत्तर-पश्चिम पाकिस्तानबीच रहेको हिन्दकुश पर्वत शृङ्खला नजिक छ।
उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेका छन्। र, अमेरिकाले त्यहाँ सडक निर्माण तथा काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावर निर्माणमा सहयोग गरेको छ।
तर आर्थिक रूपमा भने यो क्षेत्र अफगानिस्तानको अत्यावश्यक क्षेत्रमा पर्दैन। (बीबीसीको सहयोगमा)