काठमाडौं । आइतबार रातिदेखि परेको भारी वर्षासँगै काठमाडौं उपत्यका र आसपासका क्षेत्रका नदी किनारहरुमा बाढी आएको छ।
भारी वर्षाका कारण उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्ने तथा केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
अविरल वर्षाका कारण काठमाडौँको बागमती, विष्णुमति, टुकुचा, धोविखोलालगायतका खोलाहरुमा ठूलो बाढी आएको छ। यदी पानीको मात्रा नरोकिएमा ती बाढी सडकमा आउन सक्ने भन्दै बिभागले सतर्कताका लागि आग्रह गरेको हो।
विभागका अनुसार बागमतीको खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र पानीको मात्र बढ्दो क्रममा रहेको छ।
यता अविरल वर्षाका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा पर्दा अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ।
यसैगरी चितवनको माडी क्षेत्रमा पनि पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको छ। सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने भन्दै विभागले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।