Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश ५ मा थप ८ मा कोरोना संक्रमण, २१ हजारभन्दा बढी क्वारेन्टाइनमा


    सोमबार, जेष्ठ १२ २०७७
    770
    Shares
  • ३ मिनेट पाठ
  • बुटवल, १२ जेठ । सोमबार प्रदेश ५ मा आठजना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आठजना नयां संक्रमितमध्ये बाँकेका ४ जना, कपिलवस्तुका तीनजना र बर्दियाका एकजना रहेका छन् । बांकेको डुडुवा र राप्ती सोनारी गाउँपालिकाका १६ देखि २४ वर्ष उमेरका चारजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

    यस्तै बर्दियाको बाँसगढी वडा नं ९ का २५ वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु पाँच जनाको स्वाबको पीसीआर परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको हो । यस्तै कपिलवस्तुको शिवराज नगरपालिका (चन्द्रौटा) वडा नंं ४, ५ र ६ का १९ देखि २३ वर्षका तीनजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

    उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पीसीआर परीक्षण गरिएको हो । सोमबार थपिएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ ।

    सोमबारको नतिजासंगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ८८ पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मै देखिएका छन् । कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै बाँकेमा, त्यसपछि कपिलवस्तुमा र रुपन्देहीमा छ ।

    संक्रमितमध्ये प्रदेश ५ का ३२ जना निको भएर घर फर्केका छन् । बाँके नरैनापुरका एक जनाको क्वारेन्टाइनमा र गुल्मी मदानेका एक पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

    प्रदेश ५ मा आइतबारसम्म आरटी पीसीआर परीक्षणका लागि ८ हजार ९ सय ६० जनाको स्वाब संकलन गरिएको, ७ हजार १ सय ४१ जनाको परीक्षण भएको, दुई सय ८८ जनामा कोरोना पोजेटिभ देखिएको र एक हजार ८ सय १९ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।

    प्रदेश ५ मा २१ हजार ३ सय ६६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । तीमध्ये १६ हजार २ सय १६ जनाको आरडीटी टेस्ट गरिएको र ६ सय ६७ जनामा पोजेटिभ देखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार