बीबीसी । अफगानिस्तानभरि नै अफिम खेती रोजगारीको मुख्य स्रोत हो । यूएनओडीसीले गरेको एक अफिम सर्वेक्षणका अनुसार सन् २०१९ मा करिब एक लाख २० हजार मानिसहरूले अफिमको बाली उठाउने काम पाएका थिए।
अमेरिकी विदेश मन्त्रालयका अनुसार तालिवानले अफिम बालीमा कर लगाउनुका साथै यसको प्रशोधन तथा तस्करीबाट समेत अप्रत्यक्ष आम्दानी गर्ने गरेको छ। अफिम कृषकहरूबाट तालिवानले १० प्रतिशत खेती कर लगाउने गरेको बताइन्छ।
अफिमलाई हेरोइनमा परिणत गर्ने प्रयोगशाला र यो अवैध लागु औषधको तस्करीमा संलग्न व्यापारीहरू बाट समेत तालिवानले कर सङ्कलन गर्ने गरेको छ। अवैध लागु औषधबाट मात्रै तालिवानलाई वर्षमा १० करोड देखि ४० करोड अमेरिकी डलर आम्दानी हुने आकलन गरिएको छ।
अमेरिकी कमान्डर जनरल जोन निकोलसनले अफगान पुन निर्माण सम्बन्धी आफ्नो एक प्रतिवेदनमा लागु औषधले तालिवानको ६० प्रतिशत वार्षिक आय धान्ने बताएका छन्। तर, उनको आँकडामा केही विज्ञहरूले असहमति राखेका छन्।
अवैध लागु औषधको व्यापार सम्बन्धी अनुसन्धान गरिरहेका डेभिड मन्सफिल्ड भन्छन् “राष्ट्रसङ्घ र अन्यले भनेजस्तो कर प्रणाली त्यहाँ पहिचान गर्नै मुस्किल छ। त्यो प्रशासकीय र आर्थिक दुवै दृष्टिकोणले काम गर्नै नसकिने किसिमको छ।”
‘अफिमको करबाट वर्षमा बढीमा चार करोड अमेरिकी डलर आम्दानी हुनसक्छ,’ उनी भन्छन्।
लागूऔषध कहाँ पुर्याइन्छ?
अफगानिस्तानमा हुर्कने अफिमबाट बन्ने हेरोइनको ९५ प्रतिशत बजार युरोप हो । अनौठो के छ भने अमेरिकाको लागु =औषध नियन्त्रण एजेन्सीका अनुसार अमेरिकामा आपूर्ति हुने हेरोइनको जम्मा १ प्रतिशत हिस्सा मात्रै अफगानिस्तानबाट भित्रने गरेको छ। अमेरिकामा अधिकांश लागु औषध मेक्सिकोबाट भित्रन्छ।
सन् २०१७ देखि २०२० को अवधिमा ९० प्रतिशत लागु औषध सडक मार्गबाट ढुवानी भएको अध्ययनहरूले देखाएका छन्।
तर पछिल्लो समय हिन्द महासागर हुँदै युरोप जाने मार्गमा समुद्रमा यसको बरामद हुने क्रम बढेको छ।
अफिम उत्पादन र यसको बरामद हुने प्रवृत्तिमा उतार चढाव देखिए पनि अफगानिस्तानमा अफिम खेतीमा आएको बढोत्तरीसँगै यसको बरामद हुने क्रम पनि उच्च देखिन्छ। तर अफिम बरामद हुने र पक्राउ पर्ने कुराले यसको खेतीमा खासै प्रभाव नपर्ने अमेरिकी जनरलले तयार गरेको प्रतिवेदनले देखाउँछ।
सन् २००८ यता बरामद भएको अफिम अफगानिस्तानले सन् २०१९ मा उत्पादन गरेको अफिमको जम्मा ८ प्रतिशत रहेको प्रतिवेदनले उल्लेख गरेको छ।