Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देउवाले गर्न थाले एक्लौटी नियुक्ति, ब्रम्हलुट गर्नेलाई पशुपति विकास कोषको जिम्मा


    शनिबार, भाद्र १९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषदले पूर्णता नपाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भटाभट नियुक्ति गर्न थालेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा चार वटा पार्टी मिलेर बनेको सरकार भए पनि नियुक्तिमा एक्लौटी गर्न थालेका छन् ।

     शुक्रबार प्रधानमन्त्री देउवाले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा सुटुक्क मिलनकुमार थापालाई नियुक्ति गरेपछि सत्ता साझेदार दलहरु नै झस्किएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा थापालाई नियुक्ति गरिएको उल्लेख छ । पर्यटन मन्त्रालयको कार्यभार पनि देउवाले नै सम्हालेका छन् । मन्त्रीपरिषदमा माओवादीका २ सदस्यमात्र छन् । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सहभागी नै भएका छैनन् । तर देउवाले उनीहरु मन्त्रिमण्डलमा सहभागी नहुँदै पशुपति विकास कोष संचालक परिषदको सदस्य सचिवमा थापालाई नियुक्ति गरेका छन् ।

    थापा यसअघि पशुपति विकास कोषका कोषाध्यक्ष थिए । यसअघि सदस्य सचिव रहेका र साउन ३० गते कार्यकाल सकिएका डा. प्रदीप ढकालका हरेक अनियमिततामा थापा पनि संलग्न भएका थिए । सदस्य सचिव र कोषाध्यक्षको मिलेमतोमा पशुपति विकास कोषमा भएका अनियमितताका दर्जनौं उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । देउवाले तिनै थापालाई कोषको सदस्य सचिवमा नियुक्ति गरेका छन् । जलहरी लगाउने क्रममा हराएको ९ किलो सुन हिनामिनामा पनि कोषाध्यक्ष थापाको समेत मिलेमतो रहेको उजागर भइसकेको छ । पशुपतिको बालुवाको ठेक्का मिलाइदिन्छु भनी भक्त लामासँग घुस बुझ्ने सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापा दुवै भएको खुलेको छ ।

    आशिष प्रसाईलाई कोषबाट विनाप्रतिस्पर्धा २० लाखसम्मका कन्सलेन्सीका कार्य गर्न दिने कार्यमा पनि थापाको मिलेमतो रहेको सार्वजनिक भइसकेको छ ।  महालेखा परीक्षकको ५८ औं बार्षिक प्रतिवेदन २०७८ मा सार्वजनिक खरिद नियमावली २०६४ मा रु. २० लाख भन्दा बढीको खरिद बोलपत्रको माध्यमबाट गर्नुपर्ने ब्यवस्थाको उल्लंघन गरिएको उल्लेख छ । खरिद नियमावली बिपरीत विनाटेण्डर सोझै ५ करोड बराबरको खरिद गरिएको उल्लेख छ ।

     महालेखाको बार्षिक प्रतिवेदन २०७८ मा उल्लेख छ–‘सार्वजनिक खरिद नियमावली २०६४ मा रु. २० लाखभन्दा बढीको खरिद बोलपत्रको माध्यमबाट गर्नुपर्ने ब्यवस्था छ । कोषले कार्यालयका सामान, सम्पत्ति मर्मत, पर्व संचालन, स्थिर सम्पत्ति खरिद लगायतको खरिद कार्य बोलपत्रको माध्यमबाट नगरी रु. ५ लाख घटीका बिलबाट सोझै खरिद गरी रु. ४ करोड ९५ लाख ४४ हजार खरिद गरेको छ । आर्थिक बर्षको अन्तिम दिन २०७७ असार ३० मा रु. १ करोड ५२ लाखका ५७ टुक्रा खरिद गरी भुक्तानी गरेको देखिन्छ ।

    बार्षिक कार्यक्रम र बजेट स्वीकृति भएपछि खरिद योजना बनाई मिल्दो प्याकेज तयार गरी बोलपत्रको माध्यमबाट खरिद गर्न बिगत बर्षमा समेत सुझाव दिएकोमा आंशिक सुधार भता पनि यो बर्ष पनि स साना प्याकेज बनाई सोझै खरिद गरेको देखियो । यस्तो प्रवृत्तिमा सुधार गरी खरिद कार्य मितब्ययी र पारदर्शी बनाउनुपर्छ ।’

    कोषमा सदस्य सचिव ढकालसँग मिलेर थापाले गुरुयोजना निर्माण र धर्मशाला होटललाई लिजमा दिंदा पनि अनियमितता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कोषाध्यक्ष हुँदा थापाले कर्मचारी भर्नादेखि विद्युतीय सबदाह मेसिन खरिद, अष्टदल तथा भैरव मूर्ति मर्मत, पूजा सामग्री पसल भाडामा समेत भ्रष्टाचार गरेको महालेखाको प्रतिवेदनमा औंल्याइएको छ ।

    वनकाली उद्यान संचालन, पशुपति धर्मशाला बहाल, तिलगंगाको धर्मशालामा संचालित क्याफेसँग ५ बर्षदेखि भाडा असुली नगरेको बिषय लगायतका थुप्रै अनियमितता महालेखाको प्रतिवेदनमा उल्लेख छन् । तर प्रधानमन्त्री देउवाले तिनै अनियमिततामा संलग्न थापालाई कोषको सदस्य सचिव बनाएका छन् ।

    एमालेका नेता थापा कसरी भए पशुपतिमा नियुक्ति ?

    मिलनकुमार थापा एमाले ललितपुरका जिल्ला कमिटी सदस्य हुन् । २०७७ पुस ५ मा केपी ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि उनी ललितपुर जिल्ला कमिटी सदस्यमा मनोनीत भएका हुन् । थापाको घर ललितपुरको गोदाबरी हो । 

    udhyogi bhela.jpg

    देउवाले कोषको सदस्य सचिवमा नियुक्त गरेका थापा केपी ओली नेतृत्वको एमाले निकट राष्ट्रिय उद्योगी व्यवसायी महासंघका केन्द्रीय सदस्य पनि हुन् । २०७७ फागुन ३ गतेको भेलाले लक्ष्मीदास मानन्धरलाई संगठनको अध्यक्षबाट हटाएर एलपी सावाँ लिम्बुलाई अध्यक्ष चयन गरेको थियो । फागुन ३ मै साँवाको अध्यक्षतामा गठन भएको राष्ट्रिय उद्योगी व्यवसायी महासंघको कमिटी बिस्तार गरी ८५१ सदस्यीय बनाएको थियो । जुन कमिटीमा मिलनकुमार थापा पनि सदस्य भएका थिए ।

    एमालेको ललितपुर जिल्ला कमिटी सदस्य र उद्योगी ब्यवसायी महासंघको पनि केन्द्रीय सदस्य रहेका थापा नेपाली कांग्रेसका सभापति देउवालाई प्रभावमा पारी कोषको सदस्य सचिव नियुक्त हुन सफल भएका छन् । उनी कांग्रेस प्रवेश गरेर नियुक्ति पाए कि पैसाको बिटो बुझाएर पाए त्यो भने विस्तारै खुल्दैजानेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार