काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा नै छन् । उनी नेपाली कांग्रेसको महाधिवेशनमा ब्यस्त भएको समयमा भौतिक मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सडक विभाग अन्तर्गतका डिभिजन र आयोजनाहरुको सरुवामा चलखेल गरेका छन् । सचिव श्रेष्ठले सडक अन्तर्गतका सरुवामा ल्याउन घुस लिएर विवादितहरुलाई महत्वपूर्ण ठाउँमा ल्याएको आरोप छ । डीईको दरबन्दी भएको ठाउँमा उपसचिवलाई खटाएका छन् ।
आवरणमा विज्ञापन ब्यवसाय गर्ने तर मुख्य काम सडक विभाग अन्तर्गतका सरुवामा बढी चासो राख्ने रविन श्रेष्ठमार्फत् दररेट संकलन गर्दै सचिव श्रेष्ठले सडक डिभिजन र आयोजनामा सरुवा गरेका छन् । उपसचिव(डीई)को दरबन्दी भएको ठाउँमा अधिकृत(इन्जीनीयर)लाई सरुवा गरिएको छ । प्रधानमन्त्री देउवा पार्टीको महाधिवेशनमा ब्यस्त रहेको र भौतिक मन्त्री समेत नियुक्त नभएको मौका छोपेर सचिव श्रेष्ठले असुलीका आधारमा सरुवा गरेका छन् ।
अख्तियारले घुस लिँदालिँदै पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर नगरी गुपचुप उन्मुक्ति दिइएका डीई ललितजंग खनाललाई अछामको साँफेबगरबाट कास्की डिभिजनमा ल्षाइएको छ । ३ बर्षअघि रघुवीर महासेठ भौतिक मन्त्री हुँदा उनकी श्रीमती जुलीकुमारी महतोले घुस बुझेर खनाललाई मदन भण्डारी राजमार्ग आयोजनाको पूर्वी खण्डको प्रमुखमा सरुवा गर्दा विवाद भएको थियो । खनाललाई काठमाडौं डिभिजन सडकको इन्जीनीयर हुँदा घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । अहिले सचिव श्रेष्ठले रविन श्रेष्ठमार्फत् अग्रिम बुझेर मन्त्री नभएको मौका छोपी कास्की डिभिजनमा सरुवा गरेका छन् । सडक विभागअन्तर्गत कास्की डिभिजन आकर्षक मानिन्छ ।
कास्की डिभिजनको प्रमुख रहेकै बेला २०७६ साउन २४ मा डीई हरिप्रसाद पोखरेल ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनी पूर्व गृहसचिव पदमप्रसाद पोखरेलका कान्छा भाइ हुन् ।
ललितजंग खनाल डीई भएपछि बैतडीमा सरुवा भएका थिए । बैतडीको प्रमुख हुँदा खनालले एक स्थानमा निर्माण कार्य गर्नेगरी सम्झौता गरी अर्कै स्थानमा निर्माण गरेको सडकको भुक्तानी दिएकाले उनलाई कारबाही गर्नुपर्ने प्रतिवेदन महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनले दिएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ–‘डिभिजन सडक कार्यालय बैतडीले एक स्थानमा निर्माण कार्य गर्नेगरी सम्झौता भएकोमा निर्माण ब्यवसायीले अन्य स्थानमा ६ आइटमको काम गरेको देखाई रु. ४ करोड ६ लाख १५ हजार रुपैयाँ भुक्तानी दिएकोमा भेरिएसन आदेश जारी भएको छैन । तोकिएको काम नगरी भुक्तानी गर्नेलाई जिम्मेवार बनाउनुपर्छ ।’
खनाललार्ई रघुवीर महासेठ पदमुक्त हुनासाथ आएका भौतिक मन्त्री वसन्तकुमार नेम्वाङले साँफेबगरमै फर्काएका थिए ।
त्यसैगरी, सडक विभागबाट लक्ष्मी केसीलाई दमौली डिभिजनमा सरुवा गरिएको छ । कपिलवस्तुको शिवपुर डिभिजनका रामकुमार देवलाई लहान डिभिजनमा सरुवा गरिएको छ । डीईको दरबन्दी रहेको निकै आकर्षक मानिने दार्चुला–टिंकर सडक आयोजनामा इन्जीनीयर आशुतोष कर्णलाई लगिएको छ ।
इन्जीनीयर अच्यूतबिलास पन्तलाई सालझन्डी सडकमा लगिएको छ । सालझन्डीमा डीई वीरेन्द्र गौतमलाई तानेर इन्जीनीयरलाई लगिएको छ । जबकि त्यहाँ दरबन्दी डीईको छ ।
मन्त्री नभएको र प्रधानमन्त्री चुनावमा ब्यस्त भएको मौका छोपेर सचिव श्रेष्ठले सरुवामा घुसखेती गरेको स्रोत बताउँछ । स्रोतका अनुसार मन्त्री नियुक्त भएपछि सरुवा हुनसक्ने संभावना भएपछि सरुवामा बिचौलियामार्फत् घुस असुली गर्दै विवादितहरुलाई महत्वपूर्ण ठाउँमा लगेका छन् । आर्थिक चलखेलका आधारमा विवादितहरुलाई महत्वपूर्ण ठाउँमा सरुवा गर्दैआएका भौतिक सचिव श्रेष्ठले शक्तिकेन्द्रको नाम लिने गरेका छन् । बालुवाटार र खुमलटारको नाम लिंदै उनले सरुवामा असुली गर्ने गरेका छन् ।
ओली सरकारको सुरुवाती कालका भौतिक मन्त्री रघुवीर महासेठले राजेश्वर ज्ञवाली(हाल काठमाडौं महानगरपालिका)लाई कर्मचारी प्रशासन महाशाखामा दररेट तय गरी सरुवा गरेका थिए, अहिले सचिव रविन्द्र श्रेष्ठले मन्त्री नियुक्त नहुँदै रविन श्रेष्ठलाई बिचौलिया राखी असुलीका आधारमा सरुवा गरेका छन् ।