Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते


    सोमबार, भाद्र १४ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बेनी । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्‍याएको छ ।

    पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो ।

    कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पुर्‍याएको जानकारी दिए । उनका अनुसार बाढीले घर भत्कँदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याएका थिए ।

    उनले अहिले पनि पहिरो खस्ने क्रम नरोकिएको र कालीपुल बजारका ३० घर थप जोखिममा परेको जानकारी दिए । मध्यरातमा अविरल वर्षासँगै ठुलो आवाजमा पहिरो खसेपछि स्थानीयवासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयवासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।

    ‘पहिरोसँगै घरभित्रै नदीको बाढी आयो, वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सार्यौँ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ’, स्थानीयवासी सुरेश पुनले भने। उनका अनुसार बजारमा आएको छालले घरसँगै शौचालय, खानेपानीलगायतमा समेत क्षति पुर्‍याएको छ । छालले नदी नियन्त्रणको लागि बनाएको पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्णरुपमा भत्काएको छ ।

    यसैबीच पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् । पहिरो खसेर आएको बाढीले पुर्‍याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार