Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • घुुसकाण्डमा घुमुवा बचाउन प्रहरीका उच्च अधिकारी नै सक्रिय


    आइतबार, भाद्र १३ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीहरुसमेत मुछिने भएपछि तल्लो दर्जाका एक घुमुवा प्रहरीलाई राजीनामा गराएर उन्मुक्ति दिने तयारी भइरहेको छ । काभ्रेका विभिन्न ठाउँमा १२ वटाभन्दा बढी जुवा अखाडा संचालन गर्दै तीबाट मासिक ५ लाखका दरले उठाउँदै आएका सिपाही टोपबहादुर गिरीलाई नेपाल प्रहरीको उजुरी छानबिन शाखाले बर्खास्त गर्न सिफारिस गरेको छ ।

    गिरीलाई हाल २ नम्बर गण महाराजगंजमा थुनामा राखी बयान लिने कार्य भइरहेको छ । जुवा अखाडाबाट मासिक २० लाखभन्दा बढी घुस लिने गरेको पक्राउ परेका पेशेबर जुवाडे सोमबहादुर लामा, पाराङ लामा भन्ने खड्गसिंह लामाले भिडियो बयान दिएपछि प्रहरीले सिपाही गिरीसहित जिल्ला प्रहरी कार्यालयका हवल्दार कृष्ण अधिकारीसमेतलाई छानबिनको दायरामा ल्याएको छ ।

    छानबिनलाई प्रभावित पारेर उन्मुक्ति पाउने दाउमा गिरी गृहमन्त्रीसम्म पुगेका छन् । संघीय प्रहरी कार्यालय लामो समय घुमुवाका रुपमा काम गरेका गिरीले काभ्रे मात्र नभई सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायत जिल्लामा समेत सेटिङ मिलाएर पैसा उठाउने गरेका थिए । छानबिन प्रभावित पार्न गिरी गृहमन्त्री बालकृष्ण खाणकोमा पुगेका छन् । स्रोतका अनुसार काभ्रेका कांग्रेस नेता शिवप्रसाद हुमागाईमार्फत उनी गृहमन्त्रीसम्म पुगेर आफ्नो जागिर जोगाइदिन आग्रह गरेका छन् ।

     नेपालफेसले २०७८ साउन २१ मै काभ्रेको जुवाकाण्डमा प्रहरीका घुमुवा गिरी र अधिकारीको संलग्नताबारे विस्तृत समाचार प्रकाशित गरेको थियो ।  

    संघीय इकाई प्रहरी कार्यालय बनेपा जनागालमा १३ बर्षदेखि कार्यरत घुमुवा सिपाही हुन् टोपबहादुर गिरी । १३ बर्षदेखि नै संघीय प्रहरी इकाई कार्यालय र काभ्रेमा प्रमुख भएका प्रहरीका हाकिमहरु अहिले उच्च ओहदामा छन् । जुवा अखाडाबाट असुली गरेको घुसको भागबण्डा ती हाकिमहरुलाई समेत लाग्ने गरेको र गिरीले त्यो कुरा सार्वजनिक गर्ने भयबाट आतुर भई उनलाई राजीनामा गराएर उन्मुक्ति दिने खेल भइरहेको छ ।  

    १३ बर्षदेखि नै काभ्रेका पाँचखाल, धुलिखेल, बनेपा, भकुन्डबेसी, पनौतीमा धेरै जुवा अखाडा प्रहरीकै संरक्षणमा संचालित रहेको खुलासा भएको छ । जहाँ लाखौं लाखको जुवा खेल हुने गरेको छ । यी जुवा अखाडा संचालक सोमबहादुर लामालगायतलाई संरक्षण गरेर संघीय इकाई प्रहरी कार्यालयका घुमुवा गिरीले मासिक लाखौं घुस असुली गर्दैआएको खुलेको छ । 

    जुवाको अतिरिक्त कमाइमा संघीय इकाई कार्यालय प्रमुख एसएसपीदेखि जिल्लाका एसपी र वडा प्रहरी कार्यालय बनेपासम्मको भागबण्डा लाग्ने गरेको बयानमा घुमुुवा गिरी र अधिकारीले नै खुलासा गरेपछि लहरो तान्दा पहरो नै आउने भएको हो । गिरीले काभ्रेका बनेपा, धुलिखेल, पनौती, भकुन्डेबेसी र पाँचखालमा संचालित प्रत्येक जुवा अखाडाबाट मासिक ५ लाख घुस संकलन गर्ने गरेको खुलेको थियो । संघीय इकाई प्रहरी कार्यालयका तत्कालीन एसएसपी धिरजप्रताप सिंहभन्दा पहिलेदेखि नै गिरी घुमुवा थिए ।

    जुवाडेसँग एसएसपीका घुमुवा गिरीले लाखौं असुलेको घटनामा छानबिनका क्रममा हाकिम समेत म्ुछिने भएपछि गिरीलाई राजीनामा गराउन संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत उमेश जोशीदेखि उनीभन्दा अघिल्ला हाकिमहरु समेत लागेका छन् । गिरीलाई राजीनामा दिएर उन्मुक्ति दिनका लागि संघीय इकाई प्रहरी कार्यालयमा कार्यरत हाकिमहरु सक्रिय भएका छन् । प्रहरी प्रहरी कार्यालय निरीक्षणालयका एसएसपी कृष्णकुमार महतलाई गिरीलाई राजीनामा दिने वातावरण बनाइदिन दबाब परेको छ । महत उजुरी हेर्ने अधिकारी भएको र उनले नै सिपाही गिरी र काभ्रेको जुवा प्रकरणको छानबिन गरेका हुन् । उनले प्रतिवेदनमा गिरीलाई बर्खास्त गर्न सिफारिस गरेका छन् ।

    काभ्रे जिल्ला प्रहरी कार्यालयमा ५ बर्षदेखि कार्यरत अर्का घुमुवा हवल्दार कृष्ण अधिकारीले जुवा अखाडा र क्रसरबाट घुस उठाउँदै हाकिमलाई भागबण्डा गरेको बिषयमा पनि प्रहरीले छानबिन गरिरहेको छ । काभ्रेका प्रहरी प्रमुख रवि पौडेलदेखि बनेपाको वडाका इन्स्पेक्टर योगेन्द्र तिमल्सिनासम्म जुवाको घुस पुग्ने गरेको थियो ।

    दर्जाले सिपाही गिरीले जुवा अखाडा संचालकहरुसँग मिलेमतो गरी संरक्षण गरेबापत लिएको घुसबाट अकूत सम्पत्ति जोड्न सफल भएका छन् । उनी २५ लाख मूल्य पर्ने बा ८ च आ ६४८६ नम्बरको आर्ई ट्वान्टी गाडी किनेका छन् । उनीबिरुद्ध छानबिन सुरु गरेपछि हतार हतार उनले उक्त गाडी १ महिनाअघि अर्कैको नाममा बिक्री गरेको देखाएका छन् । उनले बुडोल धुलिखेलमा पक्की घर बनाइसकेका छन् । उनको लगानीमा बनेपाको गोदामचोकमा १ करोड रुपैयाँभन्दा बढी लगानीमा कटेज सहितको रेष्टुरेन्ट संचालनमा छ । तर उनले घर र रेष्टुरेन्ट पनि ै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी छानबिनमा पर्नसक्ने संभावनालाई ध्यानमा राखी आफन्तको नाममा राखेका छन् । 

    जिल्ला प्रहरी कार्यालय काभ्रेमा घुमुवा बसी जुवामा घुस लिएको पाइएपछि सरुवा भएका हवल्दार कृष्ण अधिकारीले बनेपामा ६ आना जग्गामा घर बनाएका छन् । आनाको २० लाख पर्ने जग्गामा उनले २ तल्ले घर निर्माण गरिसकेका छन् । जग्गा र घरको हालको चलनचल्तीको मूल्य ३ करोड रुपैयाँ पर्दछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार