काठमाडौं । एक वर्ष अवधि पुगेका केही जिल्लाका प्रहरी प्रमुख(एसपी)हरुको सरुवा तयारी भइरहेको छ । एसपीको एक बर्ष अवधि पुगेका जिल्लाहरुमा सर्लाही, सप्तरी, पाल्पा, स्याङजा, सिन्धुपाल्चोक, पूर्वी नवलपरासी र नुवाकोट छन् । यी जिल्लामध्ये सर्लाही, सिन्धुपाल्चोक र नुवाकोटका लागि एसपीहरुको बढी दौड चलेको छ ।
पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागूऔषध राखेर फसाउने रौतहटका एसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ । शाह तानिएपछि रौतहटको एसपीमा जानेहरुको दौडधूप सुरु भएको छ । दौडमा सबैभन्दा अगाडि भरतपुर तालिम केन्द्रमा कार्यरत एसपी विनोद घिमिरे छन् ।
रौतहटमा सरुवा हुन लागेका एसपी घिमिरेको उठबस भने चितवनमा एक विवादास्पद ब्यक्तिसँग बढी देखिएको छ । चोरीका गाडीको कारोबार गर्ने चितवनका फणिन्द्र भण्डारीसँग उनको बाक्लो सम्पर्क रहेको छ । केही दिनअघि चितवनको मौलाकालिका मन्दिरको दर्शनमा तिनै भण्डारीको आयोजनामा प्रहरीका हाकिमको लर्को नै लागेको थियो । भरतपुर तालिम केन्द्रका एसपी घिमिरे, बागमती प्रदेश ट्राफिक प्रहरीका एसपी शान्तिराज कोइराला, बागमती प्रदेशका डीआइजी प्रकाशजंग कार्कीसहित मौलाकालिका दर्शन गर्न पुगेका थिए ।
मौलाकालिका दर्शनका क्रममा चोरीका गाडीको कारोबारमा संलग्न भण्डारीले सामूहिक फोटोसेसन समेत गराएका थिए । जुन फोटो सामाजिक संजालमा समेत पोष्ट गरिएको छ ।
को हुन् फणिन्द्र भण्डारी ?
चितवनमा सरुवा भएर आउने प्रहरी प्रमुखलाई चोरीका गाडी चढ्न उपहार दिएर र उनका परिवारजन र आफन्तहरुलाई बेलावखतमा राम्रा होटल, कटेज र रेष्टुरेन्टहरुमा लगेर खुवाई–पियाई गरी खुसी बनाएका भरमा चोरी गाडीको धन्दामा सक्रिय रहँदै आएका ब्यक्ति हुन् फणिन्द्र भण्डारी ।
चितवनमा जाने हरेक प्रहरी अधिकृतले उनलाई पक्राउ गर्न खोजे पूर्वदेखि बहालवाला प्रहरी अधिकृतहरुले फणिन्द्र भण्डारीलाई कारबाहीबाट जोगाउनका लागि अनेकन दबाब दिने गरेका छन् । पूर्वडिआइजी ज्ञानेन्द्रविक्रम महतदेखि बहालवाला एसपी, एसएसपी र केही डिआइजीले समेत भण्डारीलाई पक्राउ गर्नबाट रोक्ने गरेका छन् । लामो समयदेखि चारी गाडी एवम् मोटरसाइकलको अवैधधन्दामा सक्रिय रहेका भण्डारी कतिपय अवस्थामा आफ्नो प्रतिकूल प्रहरी अधिकृत आएमा प्रहरीको कारवाहीबाट बच्नका लागि फरार समेत हुने गरेका छन् ।
भण्डारीको गाडीचोरी गरी बिक्री गर्ने धन्दामा साझेदारी गर्नेदेखि उनीहरुको काममा सघाउने सबैलाई प्रहरीले पक्राउ गरी अनुसन्धानमात्रै गरेको छैन कि अनुसन्धानका क्रममा उनीहरुले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने अञ्चलीकरणदेखि ब्लुबुकहरुसमेत नक्कली बनाउने गरेको खुल्न आएको छ । यातायात व्यवस्था कार्यालयबाट गर्नुपर्ने सम्पूर्ण कामहरु भएको नक्कली कागजात सहित ठूलो सिण्डिकेटसहित चोरीधन्दामा भण्डारीको गिरोह संलग्न भएको प्रमाण प्रहरीले फेला पारे पनि पक्राउ गरी कारबाही नगर्नुमा माथिदेखिकै दबाब नै मुख्य रहेको छ ।
चोरीका गाडी र मोटरसाइकल खरिद बिक्रीमा संलग्न भण्डारीसँग फोटोसेसन गर्ने एसपी घिमिरे यसअघि त्यति विवादमा आएका भने थिएनन् । एसपी भएपछि कैलाली र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको प्रमुख भएका घिमिरे रौतहटमा सरुवा हुने लगभग निश्चित भइसकेको प्रहरी स्रोतले बताएको छ । तेस्रो पटक इन्चार्ज हुन लागेका घिमिरे राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका हुन् ।