प्रविधिको विकाससँगै डिजिटल मिडियाको उदय हुँदैछ । नेपालमा पनि डिजिटल मिडियाको विकासले फड्को मारेको छ । प्रविधिको विकासले विश्व एउटै गाउँ भएको छ । अनलाइन पत्रकारिताको विकासका कारण नेपालको बारेमा विश्वका जुनसुकै कुनामा बसेर पनि जानकारी लिन सकिन्छ ।
नेपालमा २०६२–०६३ को जनआन्दोलनको आलोकमा मिडियाको विकास तीव्रताका साथ भइरहेको छ । त्यही विकासको बेगमा हामी पनि होमिएका छौं । विगतमा राजनीतिक बिषयले प्राथमिकता पाउँदैआएकोमा स्थिर सरकार गठनपछि आर्थिक विकासका एजेन्डा मिडियाले ंप्रभावकारी रुपमा उजागर गर्न थालेका छन् । यो सुखद् पक्ष हो । राजनीतिक संघर्षपछि स्थापित संघीय गणतन्त्र नेपालमा अबको एजेन्डा विकास हुनुपर्छ भन्ने पक्षमा हामी पनि प्रतिबद्ध छौं ।
भ्रष्टाचारका कारण जनतामा निराशा बढ्दो छ । लोकतन्त्रको जग कमजोर बनाउने भ्रष्टाचारका बिरुद्ध निरन्तर खबरदारी गर्नु मिडियाको प्रमुख दायित्वबाट हामी विमुख हुनेछैनौ । राज्यका हरेक अंंगमा हुने भ्रष्टाचारका बारेमा पनि हामी निर्भिकतासाथ सूचना सम्प्रेषण गर्न पछि पर्नेछैनौं । सुशासन विना विकास सम्भव छैन । सुशासनले नै लोकतन्त्रको जग बलियो बनाउँछ । भोक, रोग र गरिबी र अशिक्षा जस्ता जनपक्षीय मुद्दा उठाइ नै रहनेछौं ।