एजेन्सी। चीनले विद्यालयको पाठ्यक्रममा राष्ट्रपति सी जिन्पिङले प्रतिपादन गरेका राजनीतिक विचार समावेश गर्न लागेको छ।
‘सी जिन्पिङ विचारधारा;ले किशोरकिशोरीमा ‘मार्क्सवादी अवधारणा स्थापित’गर्न सघाउने चिनियाँ शिक्षा मन्त्रालयले आफ्नो नयाँ निर्देशिकामा भनेको छ।

प्राथमिक विद्यालयदेखि विश्वविद्यालय तहसम्म उक्त विचारधारा पढाइने सरकारको योजना छ।
समाजका फरक क्षेत्रहरूमा सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका विस्तार गर्ने सीको यो नवीनतम प्रयास हो।
एउटा विज्ञप्तिमा चीनको शिक्षा मन्त्रालयले ‘बहुमुखी नैतिक, बौद्धिक, भौतिक र कलात्मक धरातलयुक्त समाजवादका सूत्रधार र उत्तराधिकारी विकसित गर्नु’ यसको उद्देश्य भएको बताएको छ।
निर्देशिकामा राष्ट्रिय सुरक्षासम्बन्धी शिक्षा तथा “कडा परिश्रम गर्ने भावना विकसित गर्न” श्रमसम्बन्धी शिक्षा पनि समाविष्ट गरिएको छ।
सन् २०१८ मा चीनको सर्वोच्च निकायले “सी जिन्पिङ विचारधारा” लाई पार्टीको विधानमा पनि प्रतिष्ठापित गरिसकेको छ।
त्यसयता केही विश्वविद्यालय र विद्यालय तथा राजनीतिक युवा समूहका अतिरिक्त क्रियाकलापमा यो पढाइसकिएको छ।
‘सी जिन्पिङ विचारधारा’मा १४ वटा प्रमुख सिद्धान्त छन्।
तिनले साम्यवादी आदर्श र यी कुरामा जोड दिन्छन्ः
- ‘पूर्ण र गहिरो सुधार’ तथा ‘नयाँ विचार निर्माण’को आह्वान
- ‘मानव र प्रकृतिबीच सामञ्जस्ययुक्त जीवन’को वाचा
- ‘जनसेनामाथि पार्टीको पूर्ण नियन्त्रण’मा जोड
- ‘एक देश दुई प्रणाली’ तथा ‘मातृभूमिको पुनरेकीकरण’को महत्त्वमा जोड
नयाँ निर्देशिका अझै बृहत् रूपमा लागु गर्ने सरकारको योजना छ।
‘प्राथमिक विद्यालयहरू राष्ट्र, चिनियाँ कम्युनिस्ट पार्टी र समाजवादप्रति प्रेम विकसित गर्न केन्द्रित हुनेछन्। माध्यमिक विद्यालयहरूमा विद्यार्थीलाई आधारभूत राजनीतिक विचार र तर्क बनाउन सघाउनका लागि बोधात्मक अनुभव र ज्ञानको सम्मिलनमा जोड दिइनेछ,’सरकारी पत्रिका ग्लोबल टाइम्सले भनेको छ।
‘कलेजमा सैद्धान्तिक विचारको प्रतिष्ठापनमा अझ जोड दिइनेछ।’
शिक्षा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले मन्त्रालयले पाठ्यक्रममा पार्टीको नेतृत्व तथा राष्ट्रिय रक्षा शिक्षाजस्ता विषय पनि समावेश गर्न काम गरिरहेको जनाएको छ।
पहिला पनि चिनियाँ नेताहरूले छुट्टै राजनीतिक विचारधाराहरू प्रतिपादन गरेका थिए।
तिनलाई पार्टीको विधान वा विचारधारामा पनि संलग्न गरिएको छ।
तर पार्टीका संस्थापक नेता माओबाहेक अरूको विचारधारालाई ‘सिद्धान्त’ को मान्यता दिइएको छैन।
माओवादलाई चीनमा सबै विचारधारामध्ये शीर्ष स्थानमा राखिएको छ।
अनि केवल माओ र दङ सिओपिङको राजनीतिक विचारधारामा उनीहरूको नाम जोडिएको छ। बीबीसी नेपाली