Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मदन पुरस्कार बिजेतालाई भ्रष्टाचार मुद्दा


    बिहिबार, फाल्गुन २२ २०७६
    825
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौैं, २२ फागुन । एक महिनाको बीचमा मदन पुरस्कार बिजेता दुई साहित्यकार बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मदन पुरस्कार प्राप्त गरेका भूमिसुधार मन्त्रालयका पूर्वसचिव दिनेशहरि अधिकारी र नेपाल प्रहरीका पूर्वडीआइजी महेशविक्रम शाहका बिरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

    पूर्वसचिव अधिकारीबिरुद्ध २०७६ माघ २२ मा ललिता निवास बालुवाटारको सरकारी जग्गामा गैरकानुनी रुपमा मोही कायम गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो । पूर्वडीआइजी शाहबिरुद्ध २०७६ फागुन २० मा मुद्दा दायर गरेको छ । पूर्वसचिव अधिकारीलाई ‘अतिरिक्त अभिलेख’ कविता संंग्रहका लागि २०५६ को मदन पुरस्कार प्रदान गरिएको थियो । शाहलाई ‘छापामारको छोरो’ का लागि २०६३ को मदन पुरस्कार पाएका थिए । 

    नेपालमा धनराशीका हिसाबले ठूलो र गरिमायुक्त मानिने मदन पुरस्कार दिने पात्रको छनोट निष्पक्ष रुपमा हुने आम विश्वास छ । तर दिनेशहरि अधिकारीलाई ‘अतिरिक्त अभिलेख’ कविता संग्रहको लागि २०५६ को मदन पुरस्कारका लागि चयन गर्दा विवाद निस्किएको थियो । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेको र मदन पुरस्कार गुठीका संचालक दीक्षित परिवार आवद्ध कम्पनीका बिरुद्ध उजुरी परेको थियो । त्यो उजुरीमा उनले सकारात्मक भूमिका खेलेबापत उनलाई मदन पुरस्कार दिइएको चर्चा परिचर्चा पनि भएका थिए ।

    अधिकारीलाई ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले ७ करोड ८ लााख ४८ हजार बिगो मागेको छ । शाहलाई नेपाल प्रहरीको सिन्धुलीको दुधौली र भरतपुर तालिम केन्द्रको समादेशक हुँदा सिपाहीको रासनमा अनियमितता गरेको आरोप लगाउँदै ३३ लाख ३८ हजार ८४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । मदन पुरस्कार प्राप्त ब्यक्तिमाथि भ्रष्टाचारको आरोप लाग्नेमा अधिकारी र शाहको नाम अंकित भएको छ । यद्यपि उनीहरुमाथि मुद्दा दायर भएको हो, भ्रष्टाचार ठहर नै भएको छैन । अदालतमा मुद्दा विचाराधीन छ ।

    मदन पुरस्कारको इतिहास
    स्व. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट २०१२ साल असोज १० गते स्थापना भएको मदन पुरस्कार विभिन्न विधामा प्रदान  गरिन्छ । विशेषगरी साहित्यिक जगतमा मदन पुरस्कारको ठूलो महत्व छ । साहित्य रचना गर्ने स्रष्टाहरु मदन पुरस्कारबाट पुरस्कृत हुने कुरालाई उपलब्धीका रुपमा लिन्छन् । राशीका हिसाबाले पनि मदन पुरस्कार ठूलो मानिन्छ । मदन पुरस्कार साहित्य, कला, विज्ञान, अनुसन्धानका क्षेत्रमा उत्कृष्टता हासिल गर्नेहरुलाई दिने चलन छ । नयाँ खोज, नयाँ सिर्जनाको स्तर हेरेर पनि मदन पुरस्कार दिने चलन रहेको पाइन्छ । पुरस्कार योगदानका लागि दिइयो भने त्यो पुरस्कारको गरिमा बढ्छ । पुरस्कार पाउने व्यक्तिको सम्मान हुन्छ । नत्र पहुँचका आधारमा दिइने सरकारी पुरस्कारजस्तै हुन्छ । ती पुरस्कार बायोडाटामा भर्न त काम लाग्छन्, तर जनस्तरमा वा समाजमा त्यसको खास महत्व रहँदैन ।

    २०१३ सालमा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापाका लागि’ चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिर विद्युत उत्पादक’ का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए । २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन । 

    मदन पुरस्कार पाउने साहित्यकारहरुमा पहिलो पुस्ताका मोदनाथ प्रश्रित, बैरागी काइला,  पारिजात, धु्रवचन्द्र गौतम, धनुषचन्द्र गौतम, दिनेशहरि अधिकारी, महेशविक्रम शाह लगायत छन् । नारायण वाग्ले, अमर न्यौपाने, झमक घिमिरे,  निलम कार्की ‘निहारिका’ लगायतका स्रष्टाहरु छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार