काठमाडौँ । पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागु औषध राखेर फसाउन खोजेको प्रकरणमा मुछिएका रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जिल्ला छाडेका छन् ।
एसएसपी कृष्ण महतको संयोजकत्वमा घटनाको छानबिन गर्न चार सदस्यीय समिती गठन गरेर शाहलाई जिम्मेवारीबाट मुक्त गरेसँगै उनी बुधबार काठमाडाैँ तर्फहिडेका हुन् ।
घटनामा संलग्नता रहेको दाबी गरिएका रौतहटकै अर्का पत्रकार सन्जय सहनीले एसपी शाहसँगको टेलिफोन सम्वादको क्लिप बाहिर ल्याएपछि जिल्ला प्रहरी प्रमुखको भूमिकासमेत शंकास्पद देखिएको हो ।
छानबिन समितिले पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनेछ । यस प्रकरणमा दुई जना प्रहरी निलम्बित भइसकेका छन् ।
शाहलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेसँगै रौतहटको नयाँ प्रहरी प्रमुखमा कसलाई पठाउने भन्ने निर्णय नभएकाे हेडक्वार्टर स्राेतलेे बताएकाे छ ।