जनकपुरधाम, ९ जेठ । सर्लाहीका कोरोना संक्रमित भारतबाट लुकेर नेपाल आएको खुलेको छ । पछिल्लो पटक एकै साथ पहिचान भएका १५ जना कोरोना संक्रमित भारतबाट लुकेर आएको खुलेको हो। उनीहरु गतसाता मात्रै सीमा क्षेत्रको चोरबाटो प्रयोग गरी सर्लाही छिरेको पाइएको हो ।
सर्लाहीको गोडैता नगरपालिकामा एक महिलासहित १४ जना र रामनगर गाउँपालिकाका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएका उनीहरुको बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
‘उनीहरु लुकेर नै सीमाबाट आएको देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भने, ‘छिरिसकेको थाहा पाएर उनीहरुलाई सिधैं क्वारेन्टाइनमा राखिएको थियो ।’
रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले मुम्बईमा मजदुरी गर्दै आएका पाँचजना सीमाबाट छिरेपछि उनीहरुको स्वाब संकलन गराइएको बताए । स्वाब संकलन गर्दा एक जनाको पोजेटिभ आएको छ ।
संक्रमित सबैलाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा लग्ने प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।