गीता अधिकारी
नेपालमा चलचित्र पत्रकार संघ गठन भएको १९ वर्ष पुगिसकेको छ । हामीले हरेक वर्षको जेठ ७ गतेलाई चलचित्र पत्रकार दिवसका रूपमा मनाउँदै आएका छौँ । उन्नाइस वर्षअघि यसैदिन ‘चलचित्र पत्रकारितालाई संगठित एवं मर्यादित बनाऔँ’ भन्दै संस्थाको स्थापना गरिएको हो । हालै यो दिवस मनाइएको छ ।
२१ वर्षअघि भरत शाक्यको अध्यक्षतामा गठन भएको यस संघको छातामुनि अहिलेसम्म आइपुग्दा थुप्रै पत्रकार अटाइसकेका छन् । संस्थापक अध्यक्ष भरत शाक्य हुँदै विदुर गिरी र शान्तिप्रियले अगाडि बढाएको यो संघमा अहिले सन्दिप सापकोटाको नेतृत्व रहेको छ । मोफसलमा बुटवल, दाङ, हेटौंडा, पोखरालगायतका पूर्वदेखि पश्चिमसम्मका स्थानमा चलचित्र पत्रकार संघ सक्रिय छ ।
राजधानी काठमाडौं, हेटौंडालगायतका ठाउँमा यो दिनको अवसर पारेर यस क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र कलाकारलाई सम्मान एवं पुरस्कार प्रदान गरिँदै आइएको छ ।
चलचित्र पत्रकारिताको यो १९ वर्षमा खोलानाला र भँगालाहरू अनेकन आएका छन् । अहिले यो पेशा विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको छ । समाचार लेखेकै र प्रशारण गरेकै कारण समयसमयमा आउने धम्की र अन्य समस्या छँदैछन् भने अर्कातिर अझै पनि यो क्षेत्रमा लागेका पत्रकारहरू व्यावसायिक हुन नसकेको पनि उत्तिकै देखिन्छ । खासगरी प्रशंसामात्र सुन्न चाहने र सिर्जनात्मक आलोचना सुन्न र देख्न नसक्ने केही कलाकर्मीका कारण समयसमयमा विभिन्न समस्याहरू देखा पर्ने गरेका छन् । रहरमा यो क्षेत्रमा आएका केही छन् भने केही उल्लेखनीय काम गरौँ भन्नेको संख्या पनि राम्रै रहेको छ चलचित्र पत्रकारितामा । हामीले समयसमयमा चलचित्र क्षेत्रको बहस, अन्तक्र्रिया, कार्यशाला, रक्तदानलगायतका कार्यक्रम गर्दै आइरहेका छाँै ।
नेपाली चलचित्र उद्योगले पाँच दशकको यात्रा पूरा गरेको छ । चलचित्र पत्रकारिता क्षेत्र भने त्योभन्दा पुरानो छ । नेपालमा चलचित्र नबन्दा पनि चलचित्रका समचारमा कलम चल्ने गरेको पाइन्छ । हामी आफूलाई सञ्चारकर्मी भन्छौँ । सञ्चार भनेको विचार र जानकारी वा सूचनाको आदानप्रदान गरिने प्रक्रिया हो । वास्तवमा सूचना, तथ्यांक एवं जानकारी प्रवाह गर्ने प्रणाली तथा प्रक्रिया सञ्चार हो । सञ्चारका विविध रूप हुन्छन् । पत्रपत्रिका, टेलिभजन तथा अन्य सञ्चारका माध्यमहरू सुरु नहुँदा विभिन्न माध्यमबाट एक अर्कोमा सूचना सम्प्रेषण गर्ने गरिन्थ्यो । सञ्चारका फरकफरक माध्यम हुँदै कागजमा छापेर पढ्ने प्रक्रिया विश्वजगतमा सबैभन्दा बढी प्रचलित रहृयो भने विद्युतीय सञ्चारमाध्यम पनि त्यत्तिकै सशक्त रहेको छ ।
पछिल्लो समयमा त सामजिक सञ्जालको बाढीले यसलाई अझ विस्तृत बनाइदिएको छ । गतवर्ष चलचित्र पत्रकार संघ नेपालको १८औं वार्षिकोत्सवमा वरिष्ठ कलाकार हरिवंश आचार्यले ‘सञ्चारकर्मी कसलाई भन्ने ? मैले मेरो फेसबुकमा एउटा पोष्ट गरेँ भने एकैपटक पाँच हजारभन्दा बढीले हेर्छन्, यो हिसाबले म पनि एउटा सञ्चारकर्मी भएँ’ भनेका थिए । सूचना सम्पे्रषण गर्नेमात्रै नभएर यसैलाई आफ्नो मूल कर्म बनाउनेलाई नै सञ्चारकर्मी भन्नुपर्ने हुन्छ ।
पत्रकारिताको विश्व इतिहास हेर्दा नेपालमा निकै पछिमात्र यसको विकास भएको देखिन्छ । सन् १५४० मा हस्तलिखित सिट छपाइको काम सर्वप्रथम डेनमार्कमा भएको पाइन्छ । हाम्रोमा छापाखानाको विकास पनि निकै ढिलो भएको पाइन्छ । नेपालमा विसं १९०८ ९सन् १८५१० तिर जंगबहादुर राणा बेलायत भ्रणबाट फर्कदा फलामे हातेप्रेस ल्याएपछि यसले प्रवेश पाएकोे हो । छिमेकी देश भारतमा योभन्दा झण्डै तीनसय वर्षअघि छापाखानाले प्रवेश पाएको देखिन्छ ।
जंगबहादुरले ल्याएको गिद्धेप्रेसपछिको अर्को छापाखानाको नाम हो ‘मनोरञ्जन छापाखाना’ । गिद्धेप्रेस ल्याएको केहीवर्षपछि यो प्रेस ल्याइएको थियो । नेपाली पत्रकारिताको प्रारम्भ भने मोतिराम भट्टद्वारा भएको हो । साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले विसं १९५० तिर सुधासागरको प्रकाशन गर्न थाले । यसैबीच उनको १९५२ मा निधन भए पनि पण्डित नरराजले १९५५ मा सुधासागर प्रकाशित गरे जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो । यसअघि विसं १९४२ मा ‘गोर्खा भारत जीवन’ नामको पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए । यसलगत्तै नेपाली पत्रकारिता सुरुवात र यसको विकासक्रम भएको देखिन्छ । यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल भारतको बनारसलाई नै मान्नुपर्छ । जंगबहादुरले प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाइन्छ । ‘सुधा सागर’ पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका ‘गोर्खापत्र’ हो । यो सन् १९०१ मा प्रकाशित भएको थियो ।
यसरी प्रकाशित हुन थालेको नेपाली पत्रिका अहिलेसम्म आइपुग्दा ठूलै फड्को मारेको छ । आमसञ्चारका साधनले परापूर्वकालमा सुरु भएको भाषिक तथा मौखिक सञ्चार प्रक्रिया होस् वा आधुनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स आदि सञ्चार साधन भनेर चिनिन्छन् ।
विद्युतीय सञ्चारमाध्यमको कुरा गर्दा सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिबेला सशक्त सञ्चारमाध्यमका रूपमा विकास भएको छ । सन् १८८८ अक्टोबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लन्डनमा टेलिभिजनको आविष्कार गरेका हुन् । हामीकहाँ नेपाल टेलिभिजन २०४१ सालमा स्थापना भएको हो ।
नेपालको पत्रकारिताको विकासक्रम तीव्र गतिमा अगाडि बढेको देखिन्छ । लोकतन्त्रपछि विचार र अभिव्यक्ति स्वतन्त्रता, प्रकाशन, प्रसारण र छापाखना र सूचनाको हकको उल्लेख गरियो र श्रमजीवी पत्रकारको हक, हित र अधिकार संरक्षण गर्ने उद्देश्यले श्रमजीवी पत्रकार ऐन २०६४ जारी गरियो । त्यसपछि क्रमिक रूपमा लोकतन्त्र बहालीपछि देशमा एफएम रेडियो, निजी र सामुदायिक टेलिभिजन खुल्ने क्रमले तीव्रता पायो । वर्तमान अवस्थामा अनलाइन मिडिया र सामुदायिक सञ्चार माध्यमको सञ्चलनले पत्रकारितालाई निकै माथि उठाएको छ ।
सञ्चारमाध्यममा दलगत स्वार्थ हावी भएका कारण नेपाली पत्रकारिताले कतै बाटो त बिराएको छैन भन्ने प्रश्न पनि उब्जिने गर्छ । त्यसैले पत्रकारिताको विकाससँगै केही विकृति पनि भित्रिएको पाइन्छ ।
चलचित्र पत्रकारितालाई हरेक पत्रिकाले स्थान दिएका छन् । सबैले चलचित्रसम्बन्धी समाचारलाई आफ्नो प्रमुखतामा राखेको पाइन्छ । ठूला सञ्चार माध्यमले पनि यससम्बन्धि साप्ताहिक अंक प्रकाशन गर्ने गरेका छन् ।
चलचित्रसम्बन्धी नेपालको पहिलो पत्रिका ‘सिनेमा’ हो । नियमित प्रकाशनको दृष्टिले विगत १० वर्षदेखि काठमाडौंबाट प्रकाशित भइरहेको साप्ताहिक पत्रिका ‘फिल्मी खबर’ हो । चलचित्र क्षेत्रमा देखिएका अन्य पत्रिकाहरूमा उर्वशी, चाँदनी, श्री, अप्सरा, प्रिया, रोशनी, पूर्णिमा, सिने स्टार, मञ्जुषा, सिनेमा टाइम्स, कुमारी, मनको तरंग, माधुरी, गीताञ्जली, भावना, ढुक्ढुकी, सिमल, स्क्रिन, वारपार, कलिउड स्टार, प्राइम म्यागजिन, सानो पर्दा, कलाश्री, सिने सम्झना, कलापुञ्ज, सिनेमा समर्पण, सिने हट लाइन, स्टारडम, सनेयात्री, शृंगार, ग्लामर प्लस, चलचित्र, मनोकामना, कुमारी, वारपार, कामनालगायत रहेका छन् । कुनै नियमित प्रकाशनमा छन् भने कुनै आक्कलझुक्कल देखा पर्छन् । केही चाहिँ इतिहासमा सीमित हुन पुगेकका छन् ।
पत्रकारितालाई समाजमा सूचनामार्फत् सत्य, तथ्य सामग्री प्रस्तुत गर्ने सचेत जिम्मेवारी पेशाकर्मीका रूपमा लिइन्छ । यस्तो पेशा अँगाल्ने मान्छे गैरजिम्मेवार भयो भने यो पेशा बदनाम हुनपुग्छ । यो संवेदनशील पेशा हो । यसको मर्यादा राख्नका लागि आफू नै बढी जिम्मेवारी हुनु पर्दछ । पछिल्लो समयमा अनलाइन र केही युट्युब च्यानलहरूले पैसा आउँछ भन्दैमा संवेदनशीलताको ख्याल नगरेका गुनासाहरू धेरै पाइन्छन् । हामीले समाचार र सूचना सम्प्रेषित गर्दा विश्वासयोग्य, तथ्यपरक कुरालाई स्थान दिनु आवश्यक छ ।
गत वैशाख ९ गते चलचित्र पत्रकार संघले आयोजना गरेको एकदिने कार्यशाला गोष्ठीमा सहभागीहरूले सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिएका थिए । तथ्यांकअनुसार पछिल्लोसमय विश्वमै धेरै पढिने विधामा मनोरञ्जन समाचारपर्ने गर्दछ । कलाकारका हरेक कुरा समाचार बन्ने गर्छन् त्यसैले पनि विश्वमै यो एक नम्बरमा पर्न सफल भएको हो । यस्तो क्षेत्रमा काम गर्ने हामी अझ बढी जिम्मेवार बन्नुपर्छ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend